जापानको आइची–नागोयामा जारी २०औं एसियन गेम्समा कास्य पदक जितेका नेपाली कराते खेलाडी तेन्जिङ शेर्पा बुधबार बिहान स्वदेश फर्किएका छन्।
जापानबाट तीन दिनअघि नै नेपालका लागि प्रस्थान गरेको नेपाली कराते टोली प्राविधिक समस्याका कारण थाइल्यान्डमा झण्डै दुई दिन रोकिएको थियो। त्यसपछि बुधबार बिहान नेपाली टोली स्वदेश आइपुगेको हो।
स्वदेश फर्किएलगत्तै तेन्जिङले एसियन गेम्समा आफूले जितेको कास्य पदक आफ्नी आमा निरकुमारी श्रेष्ठ शेर्पालाई लगाइदिए। छोराको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी निरकुमारी तेन्जिङले पदक लगाइदिएपछि भावुक बनेकी थिइन्।
तेन्जिङले जापानमा पदक जितेलगत्तै पनि आफ्नी आमालाई सम्झिएका थिए। उनले आफूले जितेको पदक आमालाई समर्पण गरेका थिए।
तेन्जिङको कराते यात्रामा उनकी आमाको ठूलो योगदान छ। बौद्ध डोजोबाट कराते करिअर सुरु गरेका तेन्जिङको परिवार अहिले पनि काठमाडौंको बौद्धमा भाडाको कोठामा बस्दै आएको छ।
सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट खेल्ने तेन्जिङलाई एसियन गेम्ससम्मको यात्रामा पुर्याउन उनकी आमाले महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन्।
-1790755279.jpg)
पुरुष ८४ केजीमाथिको तौलसमूहमा प्रतिस्पर्धा गरेका तेन्जिङले कास्य पदकका लागि भएको भिडन्तमा लाओसका खेलाडीलाई ९–१ अंकले पराजित गरेका थिए।
स्वदेश फर्किएपछि तेन्जिङले एसियन गेम्सको पदकले आफूलाई निकै खुसी दिएको बताए। साथै, पदकसँगै आफ्नो जिम्मेवारी पनि थपिएको उनको भनाइ थियो।
उनले आफूले कराते यात्रा सुरु गरेको बौद्ध डोजोलगायत सहयोगी सम्पूर्णलाई धन्यवाद दिदै अझ लामो यात्रा तय गर्न बाँकी रहेको बताए।
नेपाली कराते टोलीका प्रशिक्षक कुशल श्रेष्ठले अपेक्षाअनुसार पदक प्राप्त गर्न नसके पनि तेन्जिङको कास्यले नेपाललाई रित्तो हात फर्कनबाट जोगाएको बताए।
यस संस्करणको एसियन गेम्समा नेपालले महिला कबड्डीबाट पनि कास्य पदक जितेको छ। अन्य खेलमा भने नेपालको प्रदर्शन अपेक्षाअनुसार हुन सकेको छैन।
एसियन गेम्समा १९५१ देखि खेल्न थालेको नेपालले करातेमा समग्रमा पाँच पदक जितेको छ। यसअघिको संस्करणमा एरिका गुरुङले ऐतिहासिक रजत पदक जितेकी थिइन्। यसपटक एरिकासहित नेपालका चार खेलाडी कास्य पदकको निर्णायक भिडन्तमा पराजित भएका थिए।

एसियन गेम्समा नेपालले हालसम्म २७ पदक जितिसकेको छ। करातेबाट भने नेपालले पाँच पदक प्राप्त गरेको छ।
एसियन गेम्सको करातेमा नेपालका लागि पहिलो पदक सन् १९९४ मा जापानको हिरोसिमामा भएको एसियाडमा सीता राईले जितेकी थिइन्। उनले कास्य पदक जितेकी थिइन्। त्यसपछि सन् १९९८ मा बैंकक एसियाडमा समरबहादुर गोले र सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको एसियाडमा विमला तामाङले नेपालका लागि कास्य पदक जितेका थिए।
पछिल्लो संस्करणमा एरिका गुरुङले रजत जितेकी थिइन् भने यसपटक तेन्जिङले कास्य जित्दै नेपाली करातेको एसियन गेम्स यात्रामा अर्को पदक थपेका छन्।
तर, तेन्जिङका लागि यो केवल एउटा अन्तर्राष्ट्रिय पदक होइन—आफ्नो कराते यात्रामा साथ दिने आमाको हातमा पुगेको एउटा भावनात्मक सम्मान पनि हो।