‘ए’ डिभिजन स्तरीय तेस्रो चन्द्रागिरी मेयर गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरू भएको छ।
नैकाप खेल मैदानमा सुरू भएको प्रतियोगिताको सांसद कृष्ण गोपाल श्रेष्ठले उद्घाटन गरे।
दीपशिखा युवा समूह आयोजक रहेको ए डिभिजन फुटबल
प्रतियोगितामा रुस्लान थ्री स्टारसँगै १२ टोलीको सहभागिता छ।
खेल प्रतियोगिताका संयोजक पूर्वराष्ट्रिय खेलाडी रमेश बुढाथोकीले प्रतियोगितामा आयोजकको दुई टोली सहभागी भएको जानकारी दिए।
प्रतियोगिताको विजेताले ६ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले ३ लाख ५० हजार रुपैयाँ पाउनेछ।
यसैगरी सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले ३०-३० हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगितामा रुस्लान थ्री स्टार, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, सिएमजी क्लब संकटा, भ्याली च्यासल युथ क्लब, सरस्वती युवा क्लब, ब्रिगेड ब्वाइज क्लब, जावलाखेल युवा क्लब र एनआइबिएल फ्रेन्डस् क्लबको सहभागिता छ।
यस्तै, आयोजकबाट दिपशिखा युवा समूह र चन्द्रागिरी नगरपालिकाले प्रतिस्पर्धा गर्दैछन्।
समूह ‘ए’ मा आयोजक दिपशिखा युवा समूह, ब्रिगेड ब्वाइज क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब र च्यासल युथ क्लब रहेका छन्।
समूह ‘बी’ मा चन्द्रागिरी नगरपालिका, फ्रेन्डस क्लब, रुस्लान थ्री स्टार क्लब, संकटा क्लब, नेपाल एपिएफ क्लब र सरस्वती युथ क्लब रहेका छन्।
सार्वजनिक तालिका अनुसार उद्घाटन खेलमा आयोजक दिपशिखा युवा समूह र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा सुरू भएको छ । उद्घाटन खेलमा ब्रिगेड ब्वाइज क्लबले आयोजक दिपशिखा युवा समूहलाई ३-० ले पराजित गरेको छ। ब्रिगेड ब्वाइज क्लबको जितमा ऋतिक खड्का, शिशिर लेखी र मलद्रिना आङथम्पोले गोल गरेका थिए।
उनीहरूले क्रमश: खेलको २९, ४९ र ७६ औं मिनेटमा गोल गरेका हुन्।
प्रतियोगितामा आइतबार चन्द्रागिरी नगरपालिका र फ्रेन्डस क्लबबीच खेल हुनेछ।