स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेसीले आफ्नो खेल करिअरले थ्रुप्रै रेकर्ड बनाएका छन्। जसमा धेरै क्षणहरू विश्व फुटबलको अविस्मरणीय क्षणमा गनिन्छन्।
विश्वका उत्कृष्ट खेलाडी मेसीले बार्सिलोनाका लागि अहिलेसम्म ६२७ गोल गरिसकेका छन् भने ३४ ट्रफी उचालिसकेका छन्। उनले ६ पटक बालन डि'अर आफ्नो पोल्टामा पारेका छन्।
दर्जनौ कीर्तिमान बनाएका मेसीको नाममा बिबिसीले शनिबार 'मेसी डे' मनाउँदैछ।
३२ वर्षीय मेसीको खेल करिअरमा अनेकौ 'आइकोनिक' क्षण छन्। जसमध्ये दश वटा उत्कृष्ट क्षण यस्ता छन् :-
मेसीको पहिलो ह्याट्रिक
मेसीले १० मार्च २००७ मा खेल करिअरको पहिलो ह्याट्रिक गरेका थिए। त्यो पनि अरु क्लबविरुद्ध होइन चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडविरुद्ध।
'टिनएजर' मेसीले घरेलु मैदानमा अन्तिम मिनेटमा ह्याट्रिक पूरा गर्ने क्रममा रियलका डिफेन्डरहरुलाई छक्काएका थिए। यद्यपी सो खेल ३-३ को बराबरीमा सकियो।
मेसीको उत्कृष्ट गोल
मेसीले १८ अप्रिल २००७ मा गेटाफेविरुद्ध गरेको गोल अहिलेसम्मकै उत्कृष्टमा मानिन्छ।
बार्सिलोनाले ५-२ गोलले जितेको कोपा डेल रेको सेमिफाइनलको खेलमा मेसीले पाँच जना डिफेन्डरलाई छक्काएर गोल गरेका थिए।
सो गोलले सन् १९८६ को विश्वकपमा डिएगो म्याराडोनाले इंग्ल्यान्डविरुद्ध गरेको गोलको झल्को दिएको थियो। म्याराडोनाको सो गोल पछि शताब्दीकै उत्कृष्ट गोल बन्यो।
च्याम्पियन्स लिगको फाइनलमा गरेको गोल
मेसीले सन् २००९ को युरोपियन च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर युनाइटेडविरुद्ध उत्कृष्ट गोल गरेका थिए। सो खेल बार्सिलोनाले २-० ले खेल जितेर उपाधि कब्जा गरेको थियो।
त्यसअघि उनले च्याम्पियन्स लिगमा इंग्लिस क्लबविरुद्ध लगातार १० खेलमा गोल गर्न सकेका थिए।
म्यानचेस्टरविरुद्ध गोल गरेसँगै उनी इंग्लिस क्लबविरुद्ध पनि उत्कृष्ट रहेको प्रमाणीत भएको थियो। उनले जाभीले दिएको पासमा डिबक्सभित्रबाट सानदार गोल गरका थिए। सो खेल मेसी र रोनाल्डोबीचको पहिलो खेल थियो।
आर्सनलविरुद्ध चार गोल
मेसीले ६ अप्रिल २०१० मा आर्सनलविरुद्ध एक्लै चार गोल गरेका थिए। सो खेल बार्सिलोनाले ४-१ गोलले जितेको थियो।
उनले च्याम्पियन्स लिगमा पहिलो पटक एकै खेलमा चार गोल गर्ने क्रममा क्वार्टरफाइनलमा इंग्लिस क्लब आर्सनललाई सिकार बनाए। दुई वर्षपछि जर्मन क्लब बायर लिभरकुजेनविरुद्ध बार्सिलोनाले अन्तिम १६ को खेलमा ७-१ को जित हात पार्दा मेसीले पाँच गोल गरेका थिए।
उनी च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्तामा रोनाल्डोपछि दोस्रो स्थानमा छन्। मेसीले च्याम्पियन्स लिगमा अहिलेसम्म ११४ गोल गरेका छन्।
बार्सिलोनाका सर्वाधिक गोलकर्ता
२० मार्च २०१२ मा बार्सिलोनाले ग्रानडाविरुद्ध ५-३ गोलको जित हात पारेको दिन मेसीले बार्सिलोनाका लागि सर्वाधिक गोलको कीर्तिमान बनाएका थिए।
२४ वर्षे मेसीले कीर्तिमान बनाउँदा ह्याट्रिक गरेका थिए। उनले सेजर रोद्रिगेजको २३२ गोलको कीर्तिमान भंग गरेका थिए।
अहिले मेसीले बार्सिलोनाका लागि ६२७ गोल गरिसकेका छन्। बार्सिलोनाका अरु सर्वाधिक गोलकर्ता भन्दा मेसीले ४ सय बढी गोल गरिसकेका छन्।
एकै वर्षमा ९१ गोल
मेसीले सन् २०१२ मा क्लब र देशका ९१ गोल गरे। उनले सो वर्ष बार्सिलोनाका लागि ७९ गोल र अर्जेन्टिनाका लागि १२ गोल गरेका थिए। यी गोल ६९ खेलमा सम्भव भएका थिए।
जसका कारण उनले सो वर्ष लगातार चौथो पटक बालन डि'अर हात पारेका थिए। यद्यपी उनले सो वर्ष कोपा डेल रेको मात्र उपाधि उचालेका थिए।
मेसीलाई विश्वकपको गोल्डेन बल
सन् २०१४ को विश्वकपको फाइनलमा जर्मनीले मेसीको कप्तानीमा रहेको अर्जेन्टिनालाई १-० ले हराएर उपाधि जित्यो। फाइनलमा पराजित हुनु मेसीका लागि पीडादायी क्षण बन्यो।
अर्जेन्टिनालाई फाइनलसम्म डोहोर्यउन मेसीको भूमीका उल्लेखनिय थियो। त्यसैले उनले विश्वकपको गोल्डेन बल पाए। उनले विश्वकपमा चार गोल गरेका थिए। सन् २००८ मा ओलम्पिको स्वर्ण जितेपछि देशका लागि अर्को उपाधि जित्ने मेसीको लक्ष्य भने अधुरै रह्यो।
चार वर्षपछि रसियामा भएको विश्वकपमा पनि अर्जेन्टिनाले क्वार्टरफाइनलमा मात्र यात्रा गर्न सक्यो। त्यसअघि अर्जेन्टिना २०१६ को कोपा अमेरिकाको फाइनलमा पराजित भएपछि मेसीले संन्यास लिने घोषणा गरेका थिए। तर समर्थकको आग्रहपछि उनले संन्यास फिर्ता गरे।
ला लिगाको सर्वाधिक गोलकर्ता
२२ नोभेम्बर २०१४ मा सेभिल्लालाई बार्सिलोनाले ५–१ गोलले हराएको खेलमा मेसीले ला लिगामा सबैभन्दा बढी गोल गर्ने कीर्तिमान बनाए। कीर्तिमान बनाउने क्रममा उनले ह्याट्रिक गरेका थिए।
उनले खेलमा तेल्मो जाराको २५१ गोलको कीर्तिमान बराबरी गरे लत्तगै भंग पनि गरेका थिए।
मेसीले अहिले ला लिगामा ४३८ गोल गरेका छन् जुन कीर्तिमान भन्दा २ सय गोल बढी हो भने रोनाल्डोको भन्दा सय बढी गोल हो। रोनाल्डोले रियल म्याड्रिडमा छदा ३११ गोल गरेका थिए।
एल क्लासिकोमा बार्सिलोनाका लागि ५ सय गोल
मेसीले २३ अप्रिल २०१७ मा रियलविरुद्धको एल क्लासिको भिडन्तमा बार्सिलोनाका लागि पाँच सय गोल पूरा गरेका थिए।
सो खेल बार्सिलोनाले ३-२ ले जितेको थियो। उनले इन्जुरी टाइममा गोल गरेर पाँच सय गोल मात्र पूरा गरे।
जससँगै बार्सिलोना लिगको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको थियो। खेलमा गोल गरेपछि उनले अनौठो तरिकाले खुसी मनाए। उनले आफ्नो जर्सी फुकालेर दर्शकलाई देखाएका थिए।
छैटौ पटक बालन डि'अर
मेसीले गत वर्ष छैटौं पटक बालन डि'अरको अवार्ड हात पारे। जससँगै उनी सर्वाधिक बालन डि'अर जित्ने खेलाडी बने। रोनाल्डोले अहिलेसम्म पाँच पटक जितेका छन्।
गत सिजन उनले क्लब र देशका लागि ५४ गोल गरेका थिए।