पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई स्पेनिस क्लब बार्सिलोनामा आबद्ध हुनका लागि सनसनीपूर्ण प्रस्ताव गरिएको दाबी गरिएको छ।
आर्थिक कटौती गर्ने अभियानमा रहेको इटालियन च्याम्पियन युभेन्ट्सले आफ्ना स्ट्राइकर रोनाल्डोलाई बार्सिलोनामा पठाउन प्रस्ताव गरेको स्पेनिस पत्रकारले एक अन्तर्वार्तामा दाबी गरेका हुन्।
यो प्रस्तावलाई बार्सिलोनाले स्विकार गरे विगत एक दशकमा उत्कृष्ट खेल्दै आएका रोनाल्डो र लिओनल मेसी पहिलो पटक एउटै टिमबाट खेल्नेछन्।
वार्षिक २८ मिलियल पाउन्ड तलब बुझ्दै आएका रोनाल्डोलाई अन्य क्लबमा पठाएर खर्च कटौती गर्ने तयारी गरेको स्पेनिस पत्रकार गुइलेम बलागीले दाबी गरेका हुन्। बलागी फुटबल खेलाडीसँग नजिकको सम्बन्ध राख्ने पत्रकारमा पर्छन्।
युभेन्ट्सका स्पोर्टिङ निर्देशक फाबियो पराची, उपाध्यक्ष पाभेल नेडभेद र अध्यक्ष आन्द्रे एग्नेलीले नवनियुक्त प्रशिक्षक आन्द्रे पिर्लोसँग यहि साता बैठक बसेका थिए। जसमा क्लबले बढी तलब बुझ्ने खेलाडी रोनाल्डो र पाब्लो डिबालालाई अन्य क्लबमा पठाउने निर्णय गरेको स्पेनिस मिडिया स्पोर्ट्समिडियासेटले जनाएको दाबी गरेको छ।
रोनाल्डो र डिबाला दुवैसँग क्लबको सम्झौता २०२२ सँग छ। तर यी स्टारलाई अन्य क्लबमा पठाउन सके ५० मिलियनदेखि ९० मिलियन पाउन्डसम्म कमाउन सक्ने क्लबको विश्लेषण छ।
'उनलाई सबै तिर प्रस्ताव गरिएकोमा बार्सिलोना पनि पर्छ,' बलागीले फाइभ लाइभ स्पोर्ट्ससँगको कुराकानीमा रोनाल्डोबारे भनेका छन्,'बार्सिलोनाले सजिलै रोनाल्डोलाई आबद्ध गर्नेमा ढुक्क भने छैन। किनभने रोनाल्डोलाई कसले कति पैसा तिर्न सक्छ भन्ने हो।'
कोरोना भाइरसका कारण बार्सिलोनामा पनि आर्थिक संकटमा छ। त्यसैले उसले मोटो रकम खर्चन तयार हुनेछैन।
रोनाल्डो र मेसीले एउटै क्लबबाट खेलेमा त्यो फुटबलप्रेमीका लागि अनुपम हुनेछ।
दुवैले अहिलेसम्म कुल ११ बालन डि'अर अवार्ड जितेका छन्। जसमा मेसीले ६ पटक र रोनाल्डोले ५ पटक अवार्ड हात पारेका छन्।
करिअरमा दुवैले अहिलेसम्म कुल १२७२ गोल गरिसकेका छन्। जसमा मेसीले ६३४ गोल र रोनाल्डोले ६३८ गोल गरेका छन्।
यस्तै मेसीले अहिलेसम्म २८५ एसिस्ट र रोनाल्डोले २२३ एसिस्ट गरिसकेका छन्।