इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले आफ्नो अग्रता ९ अंक पुर्याउने सुनौलो अवसर गुमाएको छ।
शनिबार राति भएको खेलमा नटिङ्घम फरेस्टसँग गोलरहित बराबरीमा रोकिँदा आर्सनलले अंक दूरी बढाउने मौका खेर फालेको हो।
दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी म्यानचेस्टर डर्बीमा युनाइटेडसँग २-० ले पराजित भएपछि आर्सनललाई फाइदा पुग्ने देखिएको थियो। तर, फरेस्टको मैदानमा आर्सनलले स्पष्ट ३ अंक जोड्न सकेन।
खेलको अन्तिम १० मिनेट बाँकी छँदा आर्सनलले पेनाल्टीको दाबी गरेको थियो। नटिङ्घमका ओला आइनाले बल क्लियर गर्ने क्रममा उनको हातमा बल लागेको देखिएको थियो। तर, रेफ्री माइकल ओलिभरले पेनाल्टी दिएनन् र भीएआरले पनि बल पहिले काँधमा लागेको र हात स्वभाविक अवस्थामा रहेको भन्दै रेफ्रीकै निर्णयलाई सदर गर्यो।
अर्कोतिर, म्यानचेस्टर युनाइटेडले आफ्ना पुराना खेलाडी माइकल क्यारिकलाई कार्यवाहक प्रशिक्षकको रूपमा जिम्मेवारी दिएको पहिलो खेलमै सानदार जित निकाल्यो।
युनाइटेडका लागि ब्रायन एम्युमो र प्याट्रिक डोर्गुले गोल गर्दै म्यानचेस्टर सिटीलाई पराजित गरे। सिटीका गोलकिपर जियानलुइजी डोनारुम्माले केही उत्कृष्ट बचाउ गरे पनि हार टार्न सकेनन्। सिटीका स्टार स्ट्राइकर अर्लिङ हालान्ड यो खेलमा पनि फिक्का देखिए।
यो बराबरीका बाबजुद आर्सनल दोस्रो स्थानको सिटीभन्दा ७ अंकले अगाडि छ। आर्सनलको २२ खेलबाट ५० अंक (पहिलो स्थान) छ भने म्यानचेस्टर सिटीले ४३ अंक (दोस्रो स्थान) बढुलेको छ। तेस्रो स्थानको एस्टन भिल्लाको पनि एक खेल कम खेल्दै ४३ अंक जोडेको स्थिति छ।
यसरी सिटी पराजित भएको दिन आर्सनलले जित निकाल्न सकेको भए उपाधि होडमा निकै बलियो पकड बनाउने थियो, तर बराबरीले गर्दा उसले केवल एक अंकमा चित्त बुझाउनु पर्यो।