म्यानचेस्टर सिटीले प्रिमियर लिगमा आफ्नो खराब लयलाई सुधार्दै तालिकाको पुछारमा रहेको उल्भ्समाथि सहज जित हात पारेको छ।
सन् २०२६ को सुरुवातमा लगातार चार खेल जित्न नसकेको सिटीले इतिहाद स्टेडियममा भएको खेलमा उल्भ्सलाई हराउँदै महत्वपूर्ण ३ अंक बटुल्यो।
प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्ना स्टार स्ट्राइकर एर्लिंग हालान्ड र मिडफिल्डर फिल फोडेनलाई विश्राम दिँदै बेन्चमा राखेका थिए। ओमार मार्मुसले म्याथियस नुनेसको क्रसमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। यो उनको यस सिजनको पहिलो गोल हो। पहिलो हाफको अन्त्यतिर बर्नार्डो सिल्भाको पासमा एन्टोनी सेमेन्योले गोल गरेपछि सिटीले २-० को अग्रता लियो।
दोस्रो हाफमा हालान्ड र फोडेन मैदान प्रवेश गरे पनि थप गोल हुन सकेन र सिटी २-० ले विजयी भयो। यो हारसँगै उल्भ्स रेलिगेसन क्षेत्रभन्दा १४ अंकले पछि परेको छ।
यता, बर्नमाउथले लिभरपुलको १३ खेलको अपराजित यात्रालाई स्तब्ध पारिदिएको छ। निकै रोमाञ्चक खेलमा बर्नमाउथले लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गर्यो। खेलको इन्जुरी समयमा एमिन एड्लीले निर्णायक गोल गर्दै घरेलु समर्थकलाई खुसी तुल्याए।
खेलको २६औँ मिनेटमा एभानिल्सनले बर्नमाउथलाई अग्रता दिलाएका थिए। त्यसक्रममा लिभरपुलका डिफेन्डर जो गोमेज घाइते भएर बाहिरिएपछि करिब ७ मिनेट लिभरपुल १० खेलाडीमा सीमित भयो। सोही मौकाको फाइदा उठाउँदै ३३औँ मिनेटमा एलिक्स जिमेनेजले बर्नमाउथको अग्रता दोब्बर बनाए।
यद्यपि, लिभरपुलले उत्कृष्ट पुनरागमनको प्रयास गर्यो। पहिलो हाफको अन्तिममा भर्जिल भान डाइकले गोल गरे भने दोस्रो हाफको ८०औँ मिनेटमा डोमिनिक सोबोस्लाईले फ्रि-किकमार्फत गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए।
तर खेलको अन्तिम समयमा एड्लीले गोल गरेपछि लिभरपुलले नोभेम्बरपछि पहिलो पटक हारको स्वाद चाख्नुपर्यो। हारका बाबजुद लिभरपुल अंक तालिकाको चौथो स्थानमा कायम छ भने बर्नमाउथ १३औँ स्थानमा उक्लिएको छ।