राष्ट्रिय लिग २०८२ अन्तर्गत आइतबारको खेलमा न्युरोड टिम (एनआरटी) ले जित निकालेको छ। एनआरटीले दिनको पहिलो खेलमा फ्रेण्ड्स क्लबमाथि १-० गोलको जित हात पारेको हो।
एनआरटीको जितमा आसिस कुँवरले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ६७औं मिनेटमा गोल गरेका थिए। न्युरोडले चार खेलमा तेस्रो जित हात पारेको हो भने नौ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। यता फ्रेण्ड्स भने चार खेलमा चार अंक जोड्दै आठौं स्थानमा छ।
यता सशस्त्र प्रहरी बलको एपिएफ क्लबले पनि जित हात पारेको छ।
दिनको दोस्रो खेलमा एपिएफले संकटा क्लबमाथि २-१ गोलको जित निकालेको हो।
एपिएफका लागि प्रदिप लामाले २९ मिनेटमा पहिलो गोल गरे। ५१ मिनेटमा युवराज खड्काले एपिएफको अग्रता दोब्बर पारे।
संकटाका लागि गणेश हमालले ८१ मिनेटमा गरेको गोल सान्त्वनामा सीमित बन्यो। एपिएफ पनि लगातार तीन खेलमा जित निकालेर नौ अंक जोडेर दोस्रो स्थानमा छ। संकटा भने चार खेलबाट पाँच अंक जोड्दै छैटौ स्थानमा छ।