इमिरेट्स स्टेडियममा भएको रोमाञ्चक खेलमा म्याथ्युज कुन्हाले अन्तिम समयमा गोल गरेपछि म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनललाई ३-२ ले पराजित गरेको छ।
यो हार आर्सनलको यस सिजनको घरेलु मैदानमा पहिलो हार हो। म्यानचेस्टर सिटी र एस्टन भिल्लाले आ-आफ्नो खेल जितेसँगै अब शीर्ष स्थानमा रहेको आर्सनलको अग्रता मात्र ४ अंकमा खुम्चिएको छ।
खेलको सुरुमा आर्सनलले राम्रो प्रदर्शन गरेको थियो। २९ औं मिनेटमा युनाइटेडका डिफेन्डर लिसान्ड्रो मार्टिनेजले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि आर्सनलले १-० को अग्रता लिएको थियो।
आर्सनलका मार्टिन जुविमेन्डीको एउटा एउटा खराब पासका कारण युनाइटेडले खेलमा फर्कने मौका पायो। उक्त पासलाई सदुपयोग गर्दै युनाइटेडका स्ट्राइकर ब्रायन एमब्युमोले गोलरक्षक डेभिड रायालाई छक्याउँदै सहजै गोल गरेर खेल बराबरीमा ल्याए।
दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै प्याट्रिक डोर्गुले उत्कृष्ट गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए। उनले प्रहार गरेको बल क्रसबारको तल्लो भागमा लाग्दै गोलमा परिणत भएको थियो।
खेलमा फर्कन आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले एकैपटक चार खेलाडी परिवर्तन गरे। ८४ औं मिनेटमा मिकेल मेरिनोले कर्नरबाट आएको बललाई गोलमा परिणत गर्दै खेल २-२ को स्थितिमा पुर्याए।
यद्यपि, बराबरीको खुसी धेरै समय टिक्न सकेन। त्यसको तीन मिनेटपछि नै कोबी मैनूको पासमा म्याथ्युज कुन्हाले २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे।
यो जितसँगै म्यानचेस्टर युनाइटेड लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ।