फुटबल प्रशिक्षक जोसे मौरिन्होको लामो र नाटकीय करियरमा धेरै अविस्मरणीय क्षणहरू छन्। तर बुधबार राति लिस्बनमा जे भयो, त्यो उनकै लागि पनि बिल्कुलै नयाँ र अचम्मको थियो।
च्याम्पियन्स लिगको खेलमा बेन्फिकाले १५ पटकको च्याम्पियन रियल म्याड्रिडलाई हराउनु मात्र पर्याप्त थिएन। खेलको अन्तिम समयसम्म बेन्फिका ३-२ ले अगाडि त थियो, तर अर्को चरण (प्ले-अफ) मा छनोट हुन उनीहरूलाई थप एक गोलको आवश्यकता थियो। यदि गोल नभएको भए उनीहरू प्रतियोगिताबाट बाहिरिने पक्का थियो।
खेलको अन्तिम सेकेन्डमा बेन्फिकाले फ्री-किक पायो। मौरिन्होले आफ्ना गोलकिपर एनाटोली ट्रुबिनलाई पनि गोल गर्न विपक्षीको पोस्टतिर पठाए। ट्रुबिनले उत्कृष्ट 'बुलेट हेडर' मार्दै गोल गरे र पूरा रंगशालामा खुसीको लहर छायो। २४ वर्षीय गोलकिपर ट्रुबिनले आफ्नो करियरमा पहिलो पटक गोल गरेका हुन्।
अचम्मको कुरा त के छ भने, गोल गर्नुभन्दा केही मिनेट अघिसम्म ट्रुबिनलाई आफ्नो टोलीलाई थप गोल चाहिन्छ भन्ने थाहा नै थिएन। उनी त समय खेर फाल्न भुइँमा लडिरहेका थिए। पछि साथीहरूले इशारा गरेर अगाडि जान भनेपछि मात्र उनी विपक्षीको पेनाल्टी एरियामा पुगेका थिए। ट्रुबिनले भने, ‘मलाई के भन्नु थाहा छैन, यो एकदमै पागलपन भरिएको क्षण थियो।'
सेप्टेम्बरमा बेन्फिकाको प्रशिक्षक बनेर आएका मौरिन्होका लागि यो जित निकै ठूलो राहत हो। पोर्चुगिज लिगमा उनको टोली शीर्ष स्थानको पोर्टोभन्दा १० अंकले पछि छ र च्याम्पियन्स लिगका सुरुवाती ४ खेल हारेका कारण उनी निकै दबाबमा थिए। मौरिन्होले आफ्नै पूर्व क्लब रियल म्याड्रिड र आफ्नै पूर्व खेलाडी (हालका म्याड्रिड प्रशिक्षक) अल्भारो आर्बेलोआ विरुद्ध यो ऐतिहासिक जित दर्ता गरेका हुन्।
यो नाटकीय जितपछि म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पनि आश्चर्य प्रकट गर्दै मौरिन्होको रणनीतिको प्रशंसा गरे।
अब अर्को चरणमा बेन्फिकाले फेरि रियल म्याड्रिड वा मौरिन्होको अर्को पूर्व क्लब इन्टर मिलानसँग खेल्नुपर्ने सम्भावना छ। मौरिन्होको यो नयाँ यात्रामा 'जादुई स्क्रिप्ट' अझै बाँकी रहेको देखिन्छ।