अखिल नेपाल फुटबल सङ्घ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शिक्षा सङ्काय तथा नेपाल ओभरसिज चिनियाँ सङ्घको संयुक्त आयोजनामा तथा नेपालस्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा नेपाल यू–२० महिला राष्ट्रिय टोली र चीनको युनान प्रान्तको युथ महिला टोलीबीच मैत्रीपूर्ण खेल भएको छ।
उक्त खेलमा नेपाल यू–२० महिला टोलीले युनान प्रान्तको टोलीलाई ३–१ ले पराजित गरेको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले खेलकुद र संस्कृति आदानप्रदानमार्फत नेपाल र चीनबीचको सम्बन्ध अझ मजबुत बनाउन सकिने धारणा राखिन्।
चिनियाँ नयाँ वर्ष २०२६ का अवसरमा आज यहाँ आयोजित नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेल कार्यक्रममा उनले खेलकुदले भाषा, भूगोल र राजनीतिभन्दा माथि उठेर मित्रता, सहकार्य र विश्वास निर्माण गर्ने बताइन्।
अवसरमा नेपालस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत झोउ पान, युवा तथा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, एन्फाका महासचिव किरण राई, युनान विश्वविद्यालय खेलकुद संस्थानका उप–निर्देशक चेनहेन छिङलगायतको उपस्थिति थियो ।
खेल सुरु हुनुभन्दा अघि नेपाल र चीनका विभिन्न सांस्कृतिक विविधता झल्काउने सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिएको थियो । चीनको ड्रागन नृत्य प्रस्तु गरिएको थियो भने नेपालका तर्फबाट पन्चैबाजाको प्रस्तुति थियो ।