राष्ट्रिय लिग २०८२ अन्तर्गत अंक तालिकाको पुछारमा रहेको काँक्रेविहार युथा क्लबविरूद्ध प्लानिङ ब्वाइज युनाइटेडले ३-० गोलको जित निकालेको छ।
आइतबार एन्फा कम्प्लेक्समा भएको खेलमा प्लानिङका लागि बबिन बोहारले पाँचौ मिनेटमा पहिलो गोल गरे। १२औं मिनेटमा रोमन भूजेलले अग्रता दोब्बर बनाउँदा ९०+२ मिनेटमा हेमन लिम्बूले तेस्रो गोल गरेका थिए।
जितसँगै प्लानिङले पाँच खेलबाट १० अंक जोडेको छ भने अंक तालिकाको छैटौं स्थानमा छ। यता काँक्रेविहार भने पाँचै खेलमा पराजित भइसकेको छ।
यता दिनको दोस्रो खेलमा श्री भगवती युवा क्लबमाथि आर्मीले ३-१ गोलको जित निकालेको छ।
खेलमा अग्रता भने भगवतीले लिएको थियो। भगवतीका लागि अजित लामाले १२औं मिनेटमा गोल गरेका थिए।
त्यसपछि आर्मीका जर्जप्रिन्स कार्कीले ३४ मिनेटमा बराबरी गोल फर्काए। नवयुग श्रेष्ठले ५८ मिनेटमा आर्मीलाई अग्रता दिलाए। उनै नवयुगले ९०+४ मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेर आर्मीको जित पक्का गरे।
जारी लिगमा आर्मीको तेस्रो जित हो भने भगवती तीन खेलमा पराजित भइसकेको छ। आर्मी ११ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ भने भगवतीले चार अंकसहित दशौं स्थानमा छ।