अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिएका दीपक खतिवडाले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्।
सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनले एन्फाको अहिलेको निर्वाचन प्रक्रिया विधान सम्मत नभएको भन्दै उम्मेदवारी लिने घोषणा गरेका हुन्।
यद्यपी माघ २८ का लागि तोकिएको एन्फाको निर्वाचन प्रक्रिया भने हाल स्थगित भएको अवस्था छ। एन्फाको निर्वाचन समितिले उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण निर्वाचन स्थगित गरेको बताएको थियो। निर्वाचनको विषयमा परेको रिटमा आगामी माघ २३ गते छलफलका लागि दुवै पक्षलाई अदालतले बोलाएको छ।
एक जना वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षद्वय दावा लामा र दीपक खतिवडा तथा साफका उपाध्यक्ष सुन्दर नरसिंह केसीले उम्मेदवारी दिएका थिए। दावा हालका अध्यक्ष पंकज नेम्बाङको प्लानलमा परेपछि खतिवडा असन्तुष्ट बनेका हुन्। उनले पछिल्लो समय नेम्बाङको साथ दिएका थिए।
नेम्बाङको प्यानलमा नपरेपछि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका खतिवडाले यो प्रक्रियामा भाग नलिने समेत बताउँदै नयाँ प्रक्रियाबाट एन्फाको निर्वाचन हुनु पर्ने समेत बताए। यद्यपी उनले हालको प्रक्रियाअनुसार निर्वाचन गर्ने निर्णय गर्दा कुनै लिखित असहमति राखेका थिएनन्।
खतिवडाले अब एन्फाको निर्वाचन जिल्लादेखि गर्दै नयाँ प्रक्रियाबाट हुनु पर्ने पनि बताए।

