पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज घरेलु टोली नेपालले दिउँसो ३ बजे बंगलादेशसँग भिड्दैछ।
त्यसअघि मध्याह्न १२ बजे भारत र भुटान आमनेसामने हुनेछन्।
पोखरास्थित अन्तर्राष्ट्रिय फुटवल रंगशालामा हुने लिगचरणको अन्तिम खेल भएकाले नेपाल दबाबमा हुनेछ। फाइनल प्रवेशको सम्भावना कायमै राख्नका लागि नेपाललाई जितको विकल्प छैन।
बंगलादेश ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।
बंगलादेश दुई खेल जित्दै फाइनल नजिक पुगेको हो। नेपाल र भारतले समान एक/एक खेल जितेर तीन अंक बनाएका छन्।
भुटानले भने अहिलेसम्म एउटा पनि खेल जितेको छैन।
भुटानले लिगचरणको अन्तिम खेलमा भारतको सामना गर्नेछ। भारतले भुटानलाई हराएको खण्डमा उसको फाइनल प्रवेशको सम्भावना बलियो हुनेछ।
यदी भारत भुटानसँग पराजित भएको खण्डमा भने घरेलु टोली नेपाललाई बंगलादेशसँगको खेलमा बराबरी गरे मात्र समेत फाइनल पुग्ने पर्याप्त हुनेछ।
नेपाल पहिलो खेलमा भारतसँग १–० गोलले पराजित हुँदा दोस्रो खेलमा भने भुटानलाई २–१ गोल अन्तरले हराएको थियो। बंगलादेशले भने पहिलो खेलमा भुटानलाई १२–० ले र भारतलाई २–० ले हराएको थियो।
प्रतियोगिताको अंक तालिकामा शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल यही माघ २४ गते हुनेछ।