नेपाली फुटबलको विवाद झनै चर्किएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिग चैत ३० गतेदेखि गर्ने तयारी गरेपछि क्लबहरूले सोमबार पत्रकार सम्मेलन गर्दै विभिन्न सात बुँदे माग राखेका थिए।
सुरूमा पत्रकार सम्मेलन गर्दै क्लबहरूले अहिले राष्ट्रिय लिग भइरहेको अवस्थामा ट्रान्सफर विन्ड खुल्ला नगरी अर्को लिगका लागि तयारी गर्न नसकिने बताएका थिए।
साथै विदेशी खेलाडी आबद्ध गर्दा वर्क परमिट लिनलाई पर्याप्त समय आवश्यक पर्ने र राष्ट्रिय लिगमै पनि एन्फाले परमिटको लागि गर्ने सहजिकरण नगरेकोले अन्योलता सिर्जना भएकाले एकद्वार प्रणालीबाट परमिट लिने व्यवस्था अबिलम्ब गर्नुपर्न माग क्लबहरूको छ।
यो पनि : एन्फासँग ए डिभिजन क्लबका सात माग
यस्तै हाल थ्रीस्टार क्लब र एपिएफ क्लबमध्ये कुन क्लबले ए डिभिजन लिग खेल्ने पक्का छैन। प्रतियोगिता नियमावली अनुसार सहिद स्मारक ए डिभिजन लिगको लागि १४ क्लबको सहभागी हुने भन्ने उल्लेख गरिएकोले लिगको वैधता तथा कानुनी अड्चन आउन नदिन एन्फाले समयमै निर्णय गरि १४ वटा क्लबको सहभागिता सुनिश्चितता गर्नुपर्ने अर्को माग क्लबको छ।
यस्तै क्लबहरूले यसअघि नेपाल फुटबल खेलाडी संघसँग गरेको सम्झौतालाई पनि अस्विकार गर्ने बताएको छ। यो निर्णयलाई क्लबहरूले एकलौटी भनेका छन्। गत साता खेलाडीहरूले आन्दोलन गरेर एन्फाको गेटमा ताला लगाएका थिए। पछि चैत ३० गतेदेखि लिग गर्ने सहमति हुँदा ताला खुलेको थियो।
खेलाडी संघसँग एन्फाको चर्काचर्की नै परेको थियो। कतिपय खेलाडीले त सामाजिक सञ्जालमै एन्फाविरूद्ध क्रोधपूर्ण पोस्ट लेखेका थिए।
क्लबहरूले सात वटा माग सार्वजनिक गरेपछि एन्फाको मुख्यालयमा पुगेका थिए। तर सुरक्षाकर्मी लगाएर एन्फाले क्लब पदाधिकारीलाई सुरूमा भित्र छिर्न दिएन। तर पछि क्लबका पदाधिकारी वार्तका लागि भित्र छिरेका थिए। केहीबेरमै वार्ता भाँडिएपछि क्लबहरूले रिले अनसन थालेका थिए।
सोमबार राति नै क्लबहरूले एन्फा गेटमा ताला लगाए। तर राति ताला फोडिएको हिमालयन शेर्पाका अध्यक्ष तथा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए।
शेर्पाका अनुसार मंगलबार एन्फासँग कुनै औपचारिक वार्ता भएको छैन। क्लबहरू भने एन्फा गेटको सडमा रिले अनसनमा छन्। माग पूरा नभएसम्म अनसनमा बस्ने शेर्पाको भनाइ छ।
एन्फाको केन्द्रीय कार्यसमितिको निर्वाचनमा भाग लिनुअघि क्लबहरू आन्दोलित छन्। यो बीचमा उच्च अदालत पाटनबाट ए डिभिजनको मान्यता पाएको थ्रीस्टार क्लबले आफ्नो पनि मताधिकार कायम हुनु पर्ने बताइएको छ। थ्रीस्टारले एपिएफको मताधिकार समेत खारेज हुनु पर्ने मत राखेको छ। यसविषयमा एन्फाको औपचारिक धारणा आएको छैन।
एन्फाको केन्द्रीय कार्यसमितिका लागि आगामी चैत १३ गते झापामा निर्वाचन हुँदैछ। त्यसअघि फुटबलमा एक प्रकारको ‘भाडभैलो’ नै मच्चिएको छ। एन्फा निर्वाचनमा हालका अध्यक्ष पंकजबिक्रम नेम्बाङ र उपाध्यक्ष दीर्घबहादुर केसीको प्यानलबीच प्रतिस्पर्धा हुँदैछ।
त्यसो त यो निर्वाचन पनि विवादरहित छैन। एन्फाले जिल्लाको निर्वाचन नगरी एकैपटक केन्द्रीय समितिको निर्वाचन गर्न लागेको भन्दै विरोध भइरहेको छ। अदालतमा समेत मुद्दा परेको थियो। तर उच्च अदालतले निर्णय प्रक्रियामा सबै केन्द्रीय सदस्यको सहमति भएको भन्दै निर्वाचन गर्न बाटो खुला गरिदिएको छ।
सकेसम्म चाँडो निर्वाचन गर्न खोजिरहेको एन्फाले प्रतिनिधि सभा निर्वाचनकै बेला प्रक्रिया अघि बढाएको थियो। तर निर्वाचन आयोगले कडा निर्देशन दिएपछि प्रक्रिया रोकिएको थियो। निर्वाचनका लागि निकै जोड गरिरहेको एन्फाले निर्वाचन सकिए लगत्तै तालिका प्रकासन गरेको थियो।
एन्फाले बिहीबारदेखि एन्फा महिला लिग सुरू गर्दैछ। यसअघि भाग लिने तय भएको राप्ती एफसीलाई एन्फाले हटाएको छ। सबै तयारी गरेर लिग खेल्न आएको राप्ती अहिले आफूमाथि अन्याय भएको भन्दै अदातल गएको छ। यसले एन्फामा अर्को विवाद निम्तिएको छ।