शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का शीर्ष अधिकारीहरूलाई भेट गरेका छन्।
बैंककमा आयोजित एएफसी अवार्ड्सको अवसरमा मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका हुन्।
भेटवार्ताका क्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लागेको निलम्बन फुकुवा गर्ने विषयमा पनि सकारात्मक वार्ता भएको मन्त्री पोखरेलले बताए। छलफलमा एन्फाको कानुनी प्रक्रिया, तहगत निर्वाचन र निलम्बन फुकुवाका विषय उठेको थियो।
छलफलकै क्रममा एन्फाले पनि तहगत निर्वाचन गर्ने सहमति भएपछि यता राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि एन्फामाथिको प्रतिबन्ध पनि फुकुवा गरेको हो।
राखेपले प्रतिबन्ध हटाएसँगै अब फिफाले पनि एन्फामाथिको निलम्बन फुकुवा गर्ने मौखिक सहमति भएको छ।
योसँगै सबै प्रशासनिक प्रक्रिया पूरा गरी प्रतिबन्ध फुकुवा हुने प्रक्रियामा जाने बताइएको छ।
