अखिल नेपाल फुटबल संघ (एन्फा) सँग विभिन्न माग राखेर रिले अनसन गरिरहेका सहिद स्मारक क्लबहरूले आफ्ना कार्यक्रम हाललाई स्थगित गरेका छन्।
एन्फा तथा सहिद स्मारक क्लबहरुबीच भएको सम्झौता कार्यान्वयनको माग राख्दै सहिद स्मारक क्लबहरूले गत चैत्र २ गतेदेखी रिले अनसन सुरु गरेका थिए।
‘एन्फाद्वारा एन्फा राष्ट्रिय लिग तथा सहिद स्मारक महिला लिग अप्रत्याशित रूपमा स्थगित गरेका कारण उक्त प्रतियोगितामा सहभागी खेलाडीहरुको व्यवस्थापन, विदाई तथा क्लबहरुलाई पर्न गएको आर्थिक क्षतिको समुचित व्यवस्थापन गर्न क्लबका पदाधिकारीहरु व्यस्त रहनुपर्ने अवस्था सिर्जना भएको छ,’ क्लबहरुको भनाइ छ।
‘तसर्थ, विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै जारी रहेको रिले अनसन हाललाई स्थगित गरिएको जानकारी गराइन्छ। साथै, भविष्यमा थप सशक्त र प्रभावकारी ढंगले हामीबीच भएको होम एन्ड अवे प्रणाली सम्बन्धी सम्झौताको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आवश्यक कार्यक्रमहरू बनाई अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौ।’
