स्पेनिस फुटबल क्लब रियल मड्रिडको मेडिकल टोलीले एउटा गम्भीर लापरवाही गरेको तथ्य बाहिर आएको छ।
गत डिसेम्बरमा केलियन एमबाप्पेको घुँडामा चोट लाग्दा मेडिकल टोलीले झुक्किएर उनको घाइते देब्रे खुट्टाको सट्टा ठिक रहेको दाहिने खुट्टाको एमआरआई स्क्यान गरेको थियो।
२७ वर्षीय फ्रेञ्च स्टार एमबाप्पेको दाहिने खुट्टाको रिपोर्टमा कुनै समस्या नदेखिएपछि उनले थप तीनवटा खेल खेले। तर, वास्तवमा उनको देब्रे घुँडामा चोट थियो र त्यहाँ सुन्निएको स्पष्ट देखिन्थ्यो।
पछि फेरि जाँच गर्दा मात्रै उनको देब्रे खुट्टाको लिगामेन्ट आंशिक रूपमा च्यातिएको पत्ता लाग्यो। क्लबले डिसेम्बर ३१ मा मेडिकल रिपोर्ट सार्वजनिक गर्दै उनलाई 'घुँडा मर्किएको' बताएको थियो।
डिसेम्बर ७ मा सेल्टा भिगोसँगको खेलमा एमबाप्पेलाई घुँडामा चोट लागेको थियो। तर गलत रिपोर्टका कारण उनले खेल जारी राखे र सन् २०२५ भित्र ५९ गोल गर्दै क्रिस्टियानो रोनाल्डोको क्लब रेकर्डसँग बराबरी समेत गरे।
क्रिसमसको बिदापछि प्रशिक्षकफर्कँदा एमबाप्पेले आफ्नो देब्रे घुँडामा समस्या भएको संकेत गरेका थिए। यसैबीच, सुपरकोपाको फाइनलमा बार्सिलोनासँग पराजित भएपछि प्रशिक्षक जाबी अलोन्सो बर्खास्त भए र अल्भारो अर्बेलोआ नयाँ प्रशिक्षक नियुक्त भए। नयाँ प्रशिक्षकको नेतृत्वमा एमबाप्पेको कार्यभार कम गरियो र उनलाई केही खेलमा आराम पनि दिइयो।
एमबाप्पे अहिले पूर्ण रूपमा निको हुने प्रक्रियामा छन्। पछिल्लो समय उनलाई केही खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान उतारिएको छ। च्याम्पियन्स लिगको म्यानचेस्टर सिटी र एथलेटिको म्याड्रिड विरुद्धको खेलमा उनले केही मिनेट मात्र खेलेका थिए।
हाल उनी फ्रान्सेली राष्ट्रिय टोलीमा आबद्ध छन्। फ्रान्सले अमेरिकामा ब्राजिल (मार्च २६) र कोलम्बिया (मार्च २९) विरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ, जसमा एमबाप्पे सहभागी हुनेछन्।
क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले मेडिकल र ट्रेनिङ विभागमा निको मिहिक र एन्टोनियो पिन्टस जस्ता विशेषज्ञ ल्याए पनि खेलाडीहरूको चोटको समस्या भने म्याड्रिडमा अझै टाउको दुखाइको विषय बनेको छ।