लिभरपुलको रातो जर्सीमा ९ वर्ष बिताएपछि मोहम्मद सालाहले यो सिजनको अन्त्यमा क्लब छोड्ने पक्का भएको छ।
लिभरपुलको पर्याय बनिसकेका सालाहलाई अर्को सिजन अर्कै क्लबको जर्सीमा देख्नु फुटबल प्रेमीका लागि एउटा अनौठो अनुभव हुनेछ। अब ३३ वर्ष पुग्न लागेका सालाहको अर्को घर कहाँ होला त?
सालाहको लागि साउदी अरब सबैभन्दा सजिलो र सम्भावित गन्तव्य हो। सालाह मुस्लिम र अरब जगतका सबैभन्दा ठूला फुटबल आइकन हुन्। साउदीका लागि सालाहलाई आफ्नो लिगमा भित्र्याउनु ठूलो उपलब्धि हुनेछ।
साउदी क्लबहरूले यसअघि नै सालाहका लागि १५० मिलियन पाउन्डको अफर गरेका थिए। फुटबल वित्त विशेषज्ञ कीरन म्यागुइरका अनुसार, साउदीले क्रिस्टियानो रोनाल्डोलाई वर्षको १७० मिलियन पाउन्ड दिइरहेको छ, त्यसैले सालाहलाई तलब खुवाउन उनीहरूलाई कुनै समस्या हुनेछैन।
साउदीका 'बिग फोर' (अल-हिलाल, अल-नासर, अल-इत्तिहाद र अल-अहली) सालाहलाई लिन तयार छन्। साथै पूर्व लिभरपुल प्रशिक्षक ब्रेन्डन रोजर्सले सम्हालिरहेको अल-कादसिया क्लब पनि दौडमा हुन सक्छ।
के सालाह लियोनेल मेस्सी जस्तै अमेरिकी लिग (एमएलएस) मा जालान्?
साउदीमा जस्तो नगद तलब नभए पनि अमेरिकामा विभिन्न ब्रान्डहरू (एडिडास, एप्पल) सँगको साझेदारीबाट ठूलो रकम कमाउन सकिन्छ। मेस्सीले अहिले त्यस्तै सम्झौताबाट वर्षको ७० देखि ८० मिलियन डलर कमाइरहेका छन्।
अमेरिकी लिगका कमिश्नर डन गार्बरले सालाहलाई स्वागत गर्न आफूहरू आतुर रहेको र उनले मेस्सी वा थोमस मुलर जस्ता खेलाडीसँग सल्लाह लिएर त्यहाँ आउन सक्ने बताएका छन्।
सन् २०२६ को विश्वकप अमेरिकामा हुँदैछ, यस्तो बेला सालाह जस्ता खेलाडी आउनु लिगको प्रतिष्ठा र व्यापारका लागि ठूलो कुरा हुनेछ।
सालाह अहिले पनि उच्च फर्ममा छन् र उनी अझै पनि च्याम्पियन्स लिग जस्ता ठूला प्रतियोगिता खेल्ने क्षमता राख्छन्। तर युरोपमा रहन उनलाई केही चुनौती छन्।
उनको महँगो तलब धान्न सक्ने युरोपमा थोरै क्लब मात्र छन्। पेरिस सेन्ट जर्मेन (पीएसजी), बायर्न म्युनिख, रियल मड्रिड र बार्सिलोना जस्ता क्लबले मात्र उनलाई अफोर्ड गर्न सक्छन्।
पीएसजीले अहिले सुपरस्टार भन्दा युवा खेलाडीमा लगानी गरिरहेको छ। बार्सिलोना र रियल मड्रिडसँग सालाहले खेल्ने स्थानमा पहिले नै लामिन यामल र एमबाप्पे जस्ता खेलाडीहरू छन्।
यद्यपि सालाह अझै पनि युरोपको शीर्ष लिगमा खेल्न चाहन्छन्, तर आर्थिक र व्यावसायिक दृष्टिकोणले उनी कि त साउदी अरब जानेछन् कि त अमेरिका। अहिलेको अवस्था हेर्दा साउदी अरब नै उनको पहिलो प्राथमिकतामा देखिन्छ।