यस सिजनको इङ्लिस प्रिमियर लिगमा मैदानभित्र रेफ्रीबाट हुने गल्ती र भिडियो असिस्टेन्ट रेफ्रीबाट हुने त्रुटीहरूमा वृद्धि भएको छ।
मुख्य खेल घटनाहरूको समीक्षा गर्ने प्यानलको पछिल्लो प्रतिवेदन अनुसार, रेफ्रीहरूबाट थप ४ वटा गल्ती भएका छन्।
योसँगै यस सिजनमा अहिलेसम्म भएका गल्तीहरूको कुल संख्या ५४ पुगेको छ। गत सिजन यही समयसम्म यस्ता गल्तीहरूको संख्या ४४ मात्र थियो।
रेफ्रीहरूको संस्था (ले समग्र अवस्थामा सुधार भइरहेको दाबी गरे पनि तथ्यांकले भने फरक कुरा देखाउँछ। यस सिजन अहिलेसम्म १८ पटक भारले गल्ती गरिसकेको छ, जुन गत सिजनको कुल गल्ती बराबर हो। अझै सिजनको एक चौथाइ खेलहरू बाँकी नै छन्।
भारले गलत समीक्षा गर्ने क्रम थोरै घटेको छ (४ बाट घटेर ३ पुगेको छ)। मैदानमा हुने गल्तीहरू (२५ वटा), भारले हेर्न छुटाएका घटनाहरू (१५ वटा) र गलत तरिकाले दिइएका 'दोस्रो पहेंलो कार्ड' (११ वटा) को संख्या भने बढेको छ।
गत मार्च १४ देखि १६ सम्म भएका खेलहरूमा प्यानलले तीनवटा पेनाल्टी दिनुपर्नेमा नदिइएको ठहर्याएको छ। एभर्टनविरुद्धको खेलमा आर्सनलका काइ हाभर्ट्जलाई फल गरिँदा पेनाल्टी दिनुपर्थ्यो। न्युकासलविरुद्धको खेलमा चेल्सीका रिस जेम्सले विपक्षी खेलाडीलाई तानेकोमा पेनाल्टी हुनुपर्थ्यो।
उल्भ्सविरुद्धको खेलमा ब्रेन्टफोर्डका केभिन शाडेलाई लडाउँदा पनि पेनाल्टी दिइएन।
यसका साथै क्रिस्टल प्यालेस विरुद्धको खेलमा लिड्स युनाइटेडका ग्याब्रियल गुडमन्डसनलाई दिइएको 'दोस्रो पहेंलो कार्ड' पनि गलत थियो।
भारले निर्णय लिन लाग्ने समयमा २५ प्रतिशतले कमी आएको छ। पहिले औसत ६४ सेकेन्ड लाग्ने गरेकोमा अहिले ४८ सेकेन्डमै निर्णय आउने गरेको छ। मैदानमा रेफ्रीले गर्ने निर्णयको शुद्धता ८६ प्रतिशतमा स्थिर छ।
भारको प्रयोग कम हुनुले मैदानमै रेफ्रीहरूले राम्रो निर्णय गर्न थालेको संकेत गर्छ। मुख्य खेल घटनाहरूको समीक्षा गर्ने यो प्यानलमा पाँच जना स्वतन्त्र विशेषज्ञहरू रहेका छन्।