चार पटकको विश्वविजेता इटाली सन् २०१४ पछि पहिलो पटक विश्वकपमा छनोट हुने लक्ष्यको निकै नजिक पुगेको छ।
बर्गामोमा भएको प्ले-अफ सेमिफाइनल खेलमा नर्दन आयरल्याण्डलाई पराजित गर्दै इटालीले आफ्नो विश्वकप सपना जीवित राखेको हो। यस हारसँगै नर्दन आयरल्याण्डको विश्वकप खेल्ने सपना भने अधुरै रहन पुग्यो।
खेलको ५६औँ मिनेटमा न्यूक्यासल युनाइटेडका मिडफिल्डर स्यान्ड्रो टोनालीले डि-बक्सको छेउबाट उत्कृष्ट गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाए।
उनको यो गोलले मैदानमा बढ्दै गएको तनावलाई कम गर्न मद्दत गर्यो। खेल सकिन १० मिनेट बाँकी छँदा मोइज किनले दोस्रो गोल थपे। नर्दन आयरल्याण्डले गोलका लागि प्रयास गरिरहेका बेला किनको प्रहार पोलको भित्री भागमा लाग्दै गोलमा परिणत भएपछि इटालीको जित सुनिश्चित भएको थियो।
माइकल ओ'निलको प्रशिक्षणमा रहेको नर्दन आयरल्याण्डको टोली निकै युवा थियो। दोस्रो विश्वयुद्धपछि औसत २२.५ वर्ष उमेरको यो दोस्रो कान्छो टोलीले खेलको सुरुमा इटालीलाई राम्रै चुनौती दिएको थियो। उनीहरूले केही राम्रा अवसरहरू सिर्जना गरे पनि गोल गर्न नसक्नु नै उनीहरूका लागि महँगो सावित भयो।
४० वर्षपछि पहिलो पटक विश्वकप खेल्ने लक्ष्य राखेको नर्दन आयरल्याण्डले इटालीका गोलकिपर जियानलुइजी डोनारुम्मालाई खासै समस्यामा पार्न सकेन। लगातार तीनवटा विश्वकप गुमाउने डर र दबाबमा रहेको इटालीले अन्ततः यो महत्वपूर्ण खेल जित्न सफल भयो। विपक्षी टोलीमा कोनर ब्राड्ली, ड्यान बलार्ड र अली म्याकन जस्ता मुख्य खेलाडीहरू नहुनुको फाइदा पनि इटालीलाई मिल्यो।
अब जेन्नारो गट्टुसोको प्रशिक्षणमा रहेको इटालीले निर्णायक खेलका लागि बोस्निया-हर्जगोभिनाको भ्रमण गर्नेछ। बोस्नियाले वेल्सलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै फाइनलमा स्थान बनाएको हो।
मंगलबार हुने यो फाइनल खेल जित्ने टोलीले विश्वकपको समूह 'बी' मा स्थान पाउनेछ। यस समूहमा सह-आयोजक क्यानाडा, स्विट्जरल्याण्ड र कतार रहेका छन्। विश्वकपबाट बाहिरिएको नर्दन आयरल्याण्डले अब वेल्ससँग एउटा मैत्रीपूर्ण खेल खेल्नेछ।