एएफसी एसियन कप २०२७ को तेस्रो चरणको अन्तिम खेलका लागि नेपाली टोली लाओसतर्फ गएको छ। नेपाली टोली शनिबार राति कुनै औपचारिक बिदाईबिना लाओसतर्फ गएको छ।
आफ्नो निर्देशनविपरित केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न लागेको भन्दै राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको थियो।
खेलकुद परिषदको निलम्बनपछि निर्वाचन स्थगित गरेको एन्फाले यसलाई हस्तक्षेप भएको आरोप लगाएको छ।
राष्ट्रिय खेलुकद परिषदसँगको विवादकै कारण दशरथ रंगशालामा हुने तय भएको नेपाल र हङकङबीच चैत १२ गते को अन्तर्राष्ट्रिय खेल समेत स्थगित भएको थियो।
सरकारसँग विवादमा परेको एन्फा पछिल्लो समय मौन छ।
एन्फाले राष्ट्रिय टोलीलाई शनिबार राति लाओसतर्फ पठाएको हो। यो खेल घरेलु मैदानमा हुनु पर्ने भए पनि दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाएको कारण लाओसमै हुन लागेको हो।
समूहमा नेपालले यसअघि भियतनामविरूद्धको दुवै खेल गुमाएको थियो। यस्तै मलेसियाविरूद्धका दुवै खेलमा पराजय भोगे पनि एक खेलको नतिजा भने उल्टाउँदै नेपालको पक्षमा दिइएको थियो। लाओससँग नेपालले पहिलो खेलमा हार ब्यहोरेको थियो। छनोटबाट बाहिरिएको नेपालका लागि मंगलबार हुने खेल प्रतिष्ठाको लडाइँमा सीमित छ।
अहिलेको स्थितिमा समूह 'एफ' बाट भियतनाम १५ अंकसहित शीर्ष स्थानमा रहँदै छनोट भइसकेको छ। दोस्रो स्थनको मलेसियाको ९ अंक रहदै बाहिरिएको छ। नजिता उल्टिएपछि नेपाल तेस्रो स्थानमा ३ अंक रहदै उक्लिएको छ। लाओस भने नेपालविरूद्ध हात पारेको जितको ३ अंकसँगै चौथो स्थानमा छ। समूहबाट मलेसियासँगै नेपाल र लाओस पनि बाहिरिएका हुन्।
चैत १७ गते लाओससँग प्रतिस्पर्धा गरेपछि नेपालको एसिया कप छनोटका खेल सकिनेछन्।
यो खेलका लागि एन्फाले आइतबार विहान मात्र राष्ट्रिय टोली सार्वजनिक गरेको छ। नेपाली टोली लाओस उडिसकेपछि मात्र राष्ट्रिय टोली सार्वजनिक गरिएको हो।
नेपाली टोली
• अभिषेक लिम्बु
• मिलन राई
• आदित्य शाक्य
• पेम्बा दोर्जे लामा
• अनन्त तामाङ
• रोहन कार्की
• आयुष घलान
• रोहित चन्द
• बिमल पाण्डे
• रोमन भुजेल
• बिशाल सुनार
• सनिश श्रेष्ठ
• दिपेश गुरुङ
• सुमन श्रेष्ठ
• जिलेस्पी जंग कार्की
• सुमित श्रेष्ठ
• किरण कुमार लिम्बु (कप्तान)
• योगेश धिमाल
• कृतिश रत्न छुन्जु
• योगेश गुरुङ
• मणीकुमार लामा
• युवराज खड्का
• मनिष डाँगी