सेनेगलको फुटबल टोलीले पेरुविरुद्धको मैत्रीपूर्ण खेलअघि 'अफ्रिका कप अफ नेसन्स' को ट्रफी प्रदर्शन गरेको छ।
रोचक कुरा के छ भने, अफ्रिकी फुटबल महासंघले यसै महिना सेनेगलबाट यो उपाधि खोसेर मोरक्कोलाई विजेता घोषणा गरिसकेको छ।
सन् २०२५ को जनवरीमा भएको अफ्रिका कपको फाइनल खेलमा आयोजक मोरक्को र सेनेगलबीच भिडन्त भएको थियो। खेलको अन्तिम समयमा स्कोर ०-० हुँदा रेफ्रीले मोरक्कोलाई पेनाल्टी दिए। यसको विरोधमा सेनेगलका खेलाडीहरूले मैदान नै छोडेर बाहिरिए।
करिब १७ मिनेटको अवरोधपछि सेनेगलका खेलाडीहरू मैदान फर्किए। मोरक्कोले पेनाल्टीमा गोल गर्न सकेन र पछि अतिरिक्त समयमा सेनेगलले गोल गर्दै खेल जित्यो।
तर, मोरक्कोको फुटबल संघले उजुरी गरेपछि 'क्याफ' ले सेनेगलले खेल बीचमै छोडेर अनुशासन उल्लंघन गरेको ठहर गर्दै नतिजा उल्ट्याइदियो। सेनेगललाई 'वाकओभर' दिएको मान्दै मोरक्कोलाई ३-० को विजेता घोषणा गरियो। सेनेगलले यस निर्णयविरुद्ध खेलकुदको सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
पेरिसमा भएको पेरुविरुद्धको खेलमा सेनेगलले आफूलाई नै च्याम्पियन मान्दै केही प्रतिकात्मक कदम चाल्यो। टोलीका सदस्यहरूले रंगशालामा ट्रफी बोकेर विजय उत्सव मनाउँदै परेड गरे।
सेनेगलले आफ्नो जर्सीमा दुईवटा तारा राखेर खेल्यो। एउटा २०२१ को उपाधिका लागि र अर्को विवादित २०२५ को उपाधिका लागि।
मैत्रीपूर्ण खेलमा सेनेगलले पेरुलाई २-० ले पराजित गर्यो। सेनेगलका लागि निकोलास ज्याक्सन र इस्माइला सारले गोल गरे।
अहिले सेनेगल जुनमा हुने विश्वकपको तयारीमा छ। विश्वकपमा सेनेगलको समूहमा फ्रान्स र नर्वे जस्ता बलिया टोलीहरू रहेका छन्। उपाधि खोसिए पनि सेनेगलले आफ्नो अडान नछोडेको यो घटनाले फुटबल जगतमा चर्चा पाएको छ।