नेपाली राष्ट्रिय फुटबल टोलीका लागि मुख्य प्रशिक्षक गुलिएल्मो एरिनाले मंगलबार आफ्नो पहिलो औपचारिक खेलमा नेतृत्व गर्दैछन्।
एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपालले लाओससँग उसकै मैदानमा खेल्न लागेको हो।
यो खेल नेपालको होम म्याच भए पनि दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउँदा खेल लाओसमै हुन लागेको हो।
छनोटबाट बाहिरिसकेको अवस्थामा प्रशिक्षक एरिनाले जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने बताएका छन्।
‘युवा र अनुभवी खेलाडीको सन्तुलनका साथ लाओस आएका छौं। मेरो लक्ष्य भनेको युवा खेलाडीलाई निर्खानु हो । त्यसैले ५ खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा मौका दिएको छु। लाओस राम्रो टोली हो । तर, हामी भोलिको खेलका लागि तयार छौं । जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौं,’ एरिनाले खेलअघिको पत्रकार सम्मेलनमा भने।
लाओससँगको खेलका लागि उनले युवराज खड्का, पेम्बा दोर्जे लामा, रोमन भुजेल, मिलन राई र योगेश धिमाललाई पहिलो पटक टोलीमा स्थान दिएका हुन्।
छनोटको अन्तिम खेलअघि नेपालका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बूले पनि जितका लागि खेल्ने बताएका छन्।
उनले भने, ‘मैदानमा उत्रिइसकेपछि जित निकाल्नु नै प्रमुख लक्ष्य हुनेछ। राम्रो तयारी भएको छ। हामी कोचको रणनितिअनुसार नै प्रर्दशन गर्ने छौं।’
नेपाल र लाओसबीचको खेल नेपाली समयअनुसार पौने ६ बजे सुरु हुनेछ। यसअघि पहिलो खेलमा नेपाललाई लाओसले २-१ ले हराएको थियो।
समूहमा नेपालले यसअघि भियतनामविरूद्धको दुवै खेल गुमाएको थियो। यस्तै मलेसियाविरूद्धका दुवै खेलमा पराजय भोगे पनि एक खेलको नतिजा भने उल्टाउँदै नेपालको पक्षमा दिइएको थियो।
छनोटबाट बाहिरिएको नेपालका लागि मंगलबार हुने खेल प्रतिष्ठाको लडाइँमा सीमित छ।
अहिलेको स्थितिमा समूह 'एफ' बाट भियतनाम १५ अंकसहित शीर्ष स्थानमा रहँदै छनोट भइसकेको छ। दोस्रो स्थनको मलेसियाको ९ अंक रहदै बाहिरिएको थियो। नजिता उल्टिएपछि नेपाल तेस्रो स्थानमा ३ अंक रहदै उक्लिएको छ।
लाओस भने नेपालविरूद्ध हात पारेको जितको ३ अंकसँगै चौथो स्थानमा छ। समूहबाट मलेसियासँगै नेपाल र लाओस पनि बाहिरिएका हुन्।
लाओससँग प्रतिस्पर्धा गरेपछि नेपालको एसिया कप छनोटका खेल सकिनेछन्।
नेपाली टोली
• अभिषेक लिम्बु
• मिलन राई
• आदित्य शाक्य
• पेम्बा दोर्जे लामा
• अनन्त तामाङ
• रोहन कार्की
• आयुष घलान
• रोहित चन्द
• बिमल पाण्डे
• रोमन भुजेल
• बिशाल सुनार
• सनिश श्रेष्ठ
• दिपेश गुरुङ
• सुमन श्रेष्ठ
• जिलेस्पी जंग कार्की
• सुमित श्रेष्ठ
• किरण कुमार लिम्बु (कप्तान)
• योगेश धिमाल
• कृतिश रत्न छुन्जु
• योगेश गुरुङ
• मणीकुमार लामा
• युवराज खड्का
• मनिष डाँगी