डेमोक्रेटिक रिपब्लिक अफ कंगोका फुटबल समर्थकहरू ५२ वर्षदेखिको एउटा लामो प्रतीक्षाको अन्त्य हुने आशामा छन्।
सन् १९७४ मा अन्तिम पटक विश्वकप खेलेको यो देशले अहिले फेरि विश्वमञ्चमा फर्किने ऐतिहासिक मौका पाएको छ।
मंगलबार जमैका विरुद्ध हुने 'इन्टरकन्टिनेन्टल प्ले-अफ' फाइनल जितेमा डिआर कंगो २०२६ को विश्वकपका लागि छनोट हुनेछ। यदि कंगो विजयी भयो भने यो देश ५२ वर्षपछि पहिलो पटक विश्वकपमा पुग्नेछ र अफ्रिकाबाट १०औँ टोलीका रूपमा अमेरिका, क्यानडा र मेक्सिको जानेछ।
सन् १९७४ मा कंगोले 'जायरे' को नामबाट विश्वकप खेलेको थियो। तर, त्यो बेलाको प्रदर्शन निकै खराब रह्यो। युगोस्लाभियासँग ९-० को हार र ब्राजिल विरुद्धको खेलमा एक खेलाडीले नियमै नबुझी बल प्रहार गरेको घटनाले अफ्रिकी फुटबलको छविमा धक्का पुगेको थियो। अहिलेको नयाँ पुस्ता त्यो पुरानो धब्बा मेटाउन चाहन्छ।
कंगो लामो समयदेखि गृहयुद्ध, भ्रष्टाचार र राजनीतिक अस्थिरताबाट गुज्रिरहेको छ। देशको पूर्वी भागमा अहिले पनि सशस्त्र विद्रोहीहरूको कब्जा छ। यस्तो कठिन समयमा फुटबलले त्यहाँका ११ करोड जनतालाई एकताबद्ध गर्ने काम गरेको छ।
गत वर्षको 'अफ्रिकन कप अफ नेसन्स' मा कंगोका खेलाडीहरूले राष्ट्रिय गानको समयमा एउटा हातले मुख छोपेर र अर्को हातको औँलाले कन्चटमा 'बन्दुक'को इशारा गर्दै शान्तिको अपील गरेका थिए। उनीहरू फुटबलमार्फत विश्वको ध्यान आफ्नो देशमा भइरहेको हिंसातर्फ तान्न चाहन्छन्।
कंगोको अहिलेको सफलतामा युरोपमा जन्मिएका र हुर्किएका खेलाडीहरूको ठूलो हात छ। एसेल तुआन्जेबे र आरोन वान-बिसाका जस्ता खेलाडीहरू, जो पहिले इंग्ल्याण्डको युवा टोलीबाट खेल्थे, उनीहरू अहिले आफ्नो पुर्ख्यौली देश कंगोको प्रतिनिधित्व गरिरहेका छन्। हालको टोलीका २६ मध्ये धेरैजसो खेलाडीहरू फ्रान्स, बेल्जियम र स्विजरल्याण्डमा हुर्किएका हुन्।
देशको आन्तरिक फुटबल लिगको अवस्था भने निकै कमजोर छ। आर्थिक अभावका कारण क्लबहरूले हवाई टिकट काट्न नसक्दा प्रतियोगिताहरू बीचमै रोकिने गरेका छन्। अर्कोतर्फ कंगो सरकारले बार्सिलोना र एसी मिलान जस्ता ठूला विदेशी क्लबहरूलाई स्पन्सर गर्न करोडौँ खर्च गरिरहेको छ, जसको त्यहाँका कर्मचारी र नागरिकहरूले विरोध गरिरहेका छन्।
बर्नलीका डिफेन्डर एसेल तुआन्जेबे भन्छन्, ‘यो खेल फुटबल मात्र होइन, यो इतिहास र एउटा विरासत छोड्ने अवसर हो।’ कंगोका जनताका लागि यो जित केवल खेलको जित मात्र नभएर, युद्ध र अशान्ति बीच एउटा खुसीको सास फेर्ने माध्यम हुनेछ।