सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकप फुटबलको टिकट बिक्री अन्तिम चरणमा पुगेको छ। यसपटक टिकटको मूल्य र बिक्री गर्ने तरिकाले गर्दा फुटबल फ्यानहरू निकै आक्रोशित र अचम्ममा परेका छन्।
विश्वकप फाइनल खेलको एउटा साधारण टिकटको मूल्य १० हजार ९९० डलर (झण्डै १४ लाख ६० हजार नेपाली रुपैयाँ) सम्म पुगेको छ। फुटबल इतिहासमा आधिकारिक रूपमा बेचिएको यो अहिलेसम्मकै सबैभन्दा महँगो साधारण टिकट मानिएको छ। तुलनाका लागि सन् २०२२ को कतार विश्वकपको फाइनलमा सबैभन्दा महँगो टिकटको मूल्य करिब १६ सय डलर मात्र थियो।
सुरुमा विश्वकप आयोजक देशहरूले फाइनलको टिकट बढीमा १५ सय ५० डलरसम्म पर्ने बताएका थिए। तर अहिले बिक्री खुल्दा त्यो मूल्य कयौँ गुणा बढेर आएको छ। यसलाई फ्यानहरूले ‘ठूलो विश्वासघात’ भनेका छन्।
फिफाले यसपटक 'डायनामिक प्राइसिङ' भन्ने प्रणाली अपनाएको छ। यसको मतलब, टिकटको माग जति धेरै हुन्छ, फिफाले उति नै मूल्य बढाउँदै लैजान्छ। कुन खेलको टिकट कति हो भन्ने कुनै निश्चित दरभाउ छैन, जसले गर्दा फ्यानहरू अन्योलमा परेका छन्।
अनलाइनबाट टिकट किन्न खोज्नेहरूले निकै सास्ती भोग्नुपर्यो। धेरै मानिसहरू ६ घण्टाभन्दा बढी समय अनलाइन कुरेर बसेका थिए। त्यसमाथि फिफाको वेबसाइटमा प्राविधिक समस्या आएर हजारौँ मानिसहरू गलत 'लाइन' मा पुगेका थिए, जसले गर्दा उनीहरूले टिकट पाउने मौका गुमाए।
जसले टिकट पाए, उनीहरूले फेरि अरूलाई बेच्नका लागि अचम्मको मूल्य राखेका छन्। एउटा रिसेल साइटमा फाइनलको एउटा टिकटको मूल्य ८२,७८० डलर (करिब १ करोड १० लाख नेपाली रुपैयाँ) सम्म मागिएको पाइएको छ।
टिकटको यस्तो चर्को मूल्य र झन्झटिलो प्रक्रियाले गर्दा धेरै वास्तविक फुटबल फ्यानहरू निराश भएका छन्। स्कटल्याण्डका एक फ्यानले भने, ‘अब टिकटका लागि मरिहत्ते गर्दिनँ, बरु अमेरिका गएर घुमघाम मात्र गरेर फर्किन्छु।’ कतिपयले त यो विश्वकप धनीहरूका लागि मात्र भएको गुनासो समेत गरेका छन्।
कर्पोरेट वा भिआइपी सुविधाहरूको मूल्य त झन् आकाशिएको छ। उदाहरणका लागि एउटा लक्जरी सुइटमा बसेर खाना-पिना र २४ वटा टिकट सहितको प्याकेजको मूल्य १ लाख २४ हजार डलर (करिब १ करोड ६५ लाख रुपैयाँ) सम्म तोकिएको छ।