राष्ट्रिय खेलकुद परिषद र अखिल नेपाल फुटबल संघ (एन्फा) बीचको विवादका कारण नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फिफा सिरिजको खेल गुमाएपछि गोलकिपर अन्जिला तुम्बापो सुब्बाले दु:ख व्यक्त गरेकी छन्।
विवादका कारण थाइल्यान्डमा हुने सिरिजबाट एन्फाले नेपालको नाम फिर्ता लिएको थियो। जसका कारण अन्तर्राष्ट्रिय खेल खेल्ने अधिकारबाट बञ्चित भएको भन्दै अन्जिलाले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सभार्वजनिक गरेकी हुन्।
‘१० वर्ष एउटा दशक। एउटा खेलाडीले १० वर्षसम्म मैदानमा के मात्रै सहँदैन? घाम, पानी, चोटपटक र अभाव। एउटा एउटा इँटा थपेर घर बनाए झैँ, नेपाली महिला फुटबल टोलीले आफ्नो साख र सफलता बनाएको थियो। तर आज? १० वर्षको त्यो कडा मेहनतलाई खरानी बनाउन तपाईंहरूको स्वार्थ र राजनीतिलाई १० मिनेट पनि लागेन,’ उनको भनाइ छ।
उनले राजनीतिको फहोरी खेलले आफ्नो अवसर खोजिएको भन्दै खेलाडीको मन मरेको पनि बताइन्।
उनको भनाइ छ, ‘अन्तर्राष्ट्रिय खेल खेल्न पाउनु एउटा खेलाडीको लागि एउटा पर्व जस्तै हो। एउटा सपनाको शिखर हो। तर जब अन्तिम समयमा आएर राजनीतिको फोहोरी खेलले गर्दा हाम्रो अवसर खोसिन्छ, तब त्यो पीडा कस्तो हुन्छ, के तपाईंहरूले कहिल्यै महसुस गर्नुभएको छ? तपाईंहरू त केवल 'न्यूज' पढ्नुहुन्छ र 'अफसोस' मान्नुहुन्छ, तर मैदानमा ओर्लिन नपाउँदा एउटा खेलाडीको मन कति पटक मर्छ, त्यो हामीलाई मात्र थाहा छ।’
उनले सम्बन्धित निकायले आउने पुस्तालाई के जवाफ दिने भनेर पनि प्रश्न गरेकी छन्।
‘आज तपाईंहरूले आफ्नो स्वार्थ जोगाउनु भयो होला, तर भोलि आउने पुस्तालाई के जवाफ दिनुहुन्छ? नयाँ आउने बहिनीहरूले कुन सपना बोकेर मैदानमा आउने? जब यहाँ खेलाडीको भविष्यमाथि नै खेलबाड हुन्छ भने, कसले आफ्नो जीवन फुटबलमा समर्पण गर्ने?,’ उनको भनाइ छ।
‘खेलाडीको रगत र पसिनालाई राजनीतिको साधन नबनाइदिनुस्। हामी देशको लागि खेल्न चाहन्छौँ, तपाईंहरूको अहङ्कारका लागि होइन। खेललाई खेल नै रहन दिनुस्, यसलाई राजनीतिको अखडा नबनाउनुस्।’
उनले अन्तर्राष्ट्रिय खेल खेल्न नपाउनुको पीडा खेलाडीले मात्र बुझ्न सकेन पनि बताएकी छन्।
‘व्यक्तिगत स्वार्थ र राजनीतिक खिचातानीले आज नेपाली महिला फुटबल र समग्र खेलाडीको भविष्य अन्धकारमा धकेलिएको छ। हामीलाई मैदान चाहिन्छ, राजनीति होइन। हाम्रो सपनामाथि खेलबाड गर्ने अधिकार कसैलाई छैन!’ उनले भनिन्, ‘फुटबलको जिम्मेवार ब्यक्तिले नबुझे कस्ले बुझ्ने ? धन्यवाद छ ती सबैलाई, जसले आफ्नो व्यक्तिगत स्वार्थलाई देश र खेलभन्दा माथि राखेर आज नेपाली फुटबललाई यो अवस्थामा पुर्याइदिनुभयो।’