स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई पराजित गरेको छ।
अनुभवी स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको निर्णायक गोलको मद्दतले बार्सिलोनाले १० खेलाडीमा सीमित एथ्लेटिकोलाई २-१ ले हराउँदै उपाधि होडमा आफ्नो पकड बलियो बनाएको छ।
तनावपूर्ण बनेको यस खेलमा पहिलो अग्रता घरेलु टोली एथ्लेटिको मड्रिडले लिएको थियो।
३९औं मिनेटमा एथ्लेटिकोका प्रशिक्षक डिएगो सिमिओनीका छोरा जुलियानो सिमिओनीले उत्कृष्ट गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए। तर, बार्सिलोनाले तुरुन्तै जवाफ फर्कायो।
४२औं मिनेटमा इंग्लिस फरवार्ड मार्कस रासफोर्डले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।
पहिलो हाफको अन्तिम समयमा एथ्लेटिकोका निको गोन्जालेजले लामिन यमललाई गोल गर्ने अवसरबाट रोकेपछि सिधै रातो कार्ड पाएका थिए। यसले गर्दा एथ्लेटिको दोस्रो हाफभरि १० खेलाडीमा सीमित हुन पुग्यो।
दोस्रो हाफमा पनि रेफ्रीको निर्णयलाई लिएर विवाद भयो। बार्सिलोनाका जेरार्ड मार्टिनले गरेको एउटा खराब ट्याकलका लागि सुरुमा रातो कार्ड दिइएको थियो। तर, भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा मोनिटरमा हेरेपछि रेफ्रीले उक्त निर्णय बदल्दै उनलाई पहेँलो कार्ड मात्र दिए, जसले एथ्लेटिकोका खेलाडीहरूलाई आक्रोशित बनाएको थियो।
खेल बराबरीमा सकिनै लाग्दा ८७औं मिनेटमा ३७ वर्षीय रोबर्ट लेवान्डोस्की बार्सिलोनाका लागि 'हिरो' बने। जोआओ कान्सेलोको प्रहारलाई एथ्लेटिकोका गोलकिपरले नियन्त्रणमा लिन नसक्दा बल लेवान्डोस्कीको काँधमा ठोक्किएर जाली चुम्न पुग्यो। यही गोल नै बार्सिलोनाको जितका लागि पर्याप्त बन्यो।
यो जितसँगै बार्सिलोनाको ३० खेलबाट ७६ अंक भएको छ। दोस्रो स्थानमा रहेको रियल मड्रिड शनिबार मालोर्कासँग अप्रत्याशित रूपमा पराजित भएपछि बार्सिलोना अहिले ७ अंकले अगाडि छ। रियल मड्रिडको ६९ अंक छ। एथ्लेटिको मड्रिड भने ५७ अंकका साथ चौथो स्थानमा यथावत छ।
जितपछि बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले भने, "यहाँको वातावरणमा खेल्न सजिलो छैन, तर म यो तीन अंकबाट निकै खुसी छु। हामीमा जितको भोक हुनुपर्छ। अब लिगमा ८ खेल बाँकी छन् र हामीले सधैं तयार रहनुपर्छ।"
बार्सिलोना र एथ्लेटिको मड्रिडबीचको यो प्रतिस्पर्धा यहीँ सकिएको छैन। आगामी बुधबार यी दुई टोली च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा पुनः आमने-सामने हुनेछन्। ला लिगामा भने आगामी मे १० मा बार्सिलोना र रियल मड्रिडबीचको निकै महत्वपूर्ण 'एल क्लासिको' हुने तालिका छ।