म्यानचेस्टर सिटीका सहायक प्रशिक्षक पेप लिइन्डर्सले स्टार मिडफिल्डर बर्नार्डो सिल्भाको क्लबसँगको ९ वर्ष लामो सुखद यात्रा यसै समरमा सकिने संकेत दिएका छन्।
लिइन्डर्सका अनुसार ‘हरेक राम्रो कथाको एक दिन अन्त्य हुन्छ।‘
३१ वर्षीय सिल्भाको सिटीसँगको सम्झौता यसै सिजनको अन्त्यमा सकिँदैछ। उनले अहिलेसम्म क्लबसँग नयाँ सम्झौता गरेका छैनन्। उनलाई स्पेनिस क्लब बार्सिलोना, इटालीको युभेन्टस वा अमेरिकाका क्लबहरूले अनुबन्ध गर्न सक्ने चर्चा सुरु भएको छ।
शनिबार एफए कपको क्वाटरफाइनलमा लिभरपुललाई ४-० ले हराएपछि मिडियासँग कुरा गर्दै लिइन्डर्सले सिल्भाको महत्वबारे चर्चा गरे। प्रशिक्षक पेप गार्डिओला प्रतिबन्धमा रहेका कारण लिइन्डर्सले टोलीको जिम्मेवारी सम्हालेका थिए।
सन् २०१७ मा मोनाकोबाट सिटी आएका उनले ४५० खेल खेलिसकेका छन्। सिटीमा रहँदा उनले १८ वटा मुख्य उपाधि जितेका छन्।केभिन डे ब्रुइनाको बिदाइपछि उनी अहिले टोलीका कप्तान हुन्।
प्रशिक्षक पेप गार्डिओलाले सबैभन्दा धेरै विश्वास गर्ने र मैदानमा 'प्रशिक्षक' जस्तै भूमिका खेल्ने सिल्भालाई गुमाउनु सिटीका लागि ठूलो रणनीतिक चुनौती हुने देखिन्छ।
सिटीले सिल्भाको विकल्पको रूपमा नटिंगहम फरेस्टका मिडफिल्डर इलियट एन्डरसनलाई भित्र्याउन सक्ने चर्चा छ। तर, सहायक प्रशिक्षक लिइन्डर्सले क्लबको आफ्नै एकेडेमीबाट आउने युवा खेलाडीहरूले यो रिक्तता भर्नुपर्नेमा जोड दिएका छन्। उनले अनुभवी खेलाडीहरू क्लबमा टिकिरहनु र युवाहरूले उनीहरूबाट सिक्दै अघि बढ्नु पर्ने बताए।