इंग्लिस एफए कपको सेमिफाइनल ड्र सार्वजनिक भएको छ, जहाँ लिड्स युनाइटेड र चेल्सीबीचको रोचक भिडन्त तय भएको छ।
लिड्स युनाइटेड ३९ वर्षपछि पहिलो पटक एफए कपको सेमिफाइनलमा पुग्न सफल भएको छ।
आइतबार भएको रोमाञ्चक खेलमा वेस्ट ह्याम युनाइटेडसँग २-२ को बराबरीपछि पेनाल्टी सुटआउटमा ४-२ को जित निकाल्दै लिड्सले वेम्बलीको टिकट काटेको हो।
अब फाइनल प्रवेशका लागि लिड्सले ८ पटकको विजेता चेल्सीको सामना गर्नेछ।
यी दुई टोलीबीचको खेलले सन् १९७० को चर्चित फाइनलको सम्झना ताजा गराउनेछ, जहाँ चेल्सी विजयी भएको थियो। लिड्सले अन्तिम पटक सन् १९७२ मा यो उपाधि जितेको थियो।
अर्को सेमिफाइनलमा साविक उपविजेता म्यानचेस्टर सिटीले च्याम्पियनसिप (दोस्रो डिभिजन) टोली साउथह्याम्पटनको सामना गर्नेछ।
साउथह्याम्पटनले शनिबार प्रिमियर लिगको बलियो टोली आर्सनललाई स्तब्ध पार्दै सेमिफाइनलमा स्थान बनाएको हो। ७ पटकको विजेता सिटी विरुद्ध साउथह्याम्पटनको यो खेल निकै चुनौतीपूर्ण हुने अपेक्षा गरिएको छ।
यी दुवै सेमिफाइनल खेलहरू लन्डनको प्रसिद्ध वेम्बली स्टेडियममा अप्रिल २५ र २६ मा खेलाइनेछ।