च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा एट्लेटिको म्याड्रिडसँग २-० ले पराजित भएपछि बार्सिलोनाले युइएफएमा औपचारिक उजुरी दर्ता गरेको छ। खेलको दौरान भिडियो असिस्टेन्ट रेफ्रीले गम्भीर गल्ती गरेको बार्सिलोनाको दाबी छ।
खेलको ५४औं मिनेटमा एट्लेटिकोका डिफेन्डर मार्क पुबिलले आफ्नो पेनाल्टी एरिया भित्र बल हातले छोएका थिए। गोलकिपर जुआन मुसोले गोल किक हानेर खेल सुरु गरिसकेपछि पुबिलले बल हातले रोकेका थिए। बार्सिलोनाका खेलाडीहरूले पेनाल्टीको माग गरे पनि रेफ्री इस्तभान कोभाक्स र भारले यसलाई वास्ता गरेनन्।
प्रशिक्षक ह्यान्सी फ्लिकका अनुसार, यो स्पष्ट पेनाल्टी हुनुपर्थ्यो र पहिले नै एउटा पहेँलो कार्ड पाइसकेका पुबिललाई दोस्रो पहेँलो कार्ड दिँदै रातो कार्ड दिएर मैदान बाहिर पठाउनुपर्थ्यो।
बार्सिलोनाले बिहीबार एक विज्ञप्ति जारी गर्दै रेफ्रीको यो निर्णयले खेलको नतिजामा प्रत्यक्ष असर पारेको बताएको छ।
क्लबले यस घटनाको छानबिन गर्न माग गरेको छ भने रेफ्री र भारबीच भएको कुराकानी सुन्न पाउनुपर्ने माग गरिएको छ।
रेफ्रीबाट भएको गल्तीलाई आधिकारिक रूपमा स्वीकार गरिनुपर्ने क्लबको अडान छ।
बार्सिलोनाका युवा डिफेन्डर पाउ कुबार्सीलाई सुरुमा पहेँलो कार्ड दिइएको थियो, तर भारले रिभ्यु गर्न लगाएपछि रेफ्रीले त्यसलाई रातो कार्डमा बदलेका थिए।
एट्लेटिकोका लागि जुलियन अल्भारेजले फ्री-किक मार्फत पहिलो गोल गरे भने अलेक्जेन्डर सोर्लोथले ७०औं मिनेटमा दोस्रो गोल गरे।
यो जितसँगै एट्लेटिकोले सन् २००६ पछि पहिलो पटक बार्सिलोनाको घरेलु मैदान (नो क्याम्प) मा जित हासिल गरेको छ।