एस्पानियोललाई ४-१ गोलले सहजै पराजित गर्दै बार्सिलोना ला लिगाको अंक तालिकामा आफ्नो चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडभन्दा ९ अंकले अगाडि पुगेको छ।
खेलको नवौँ मिनेटमै लामिन यामलको कर्नरमा फेरान टोरेसले हेडमार्फत गोल गर्दै बार्सिलोनाको खाता खोलेका थिए। म्यानचेस्टर सिटीका पूर्व फरवार्डले २५औँ मिनेटमा टोली र आफ्नो लागि व्यक्तिगत दोस्रो गोल थपे।
लामिन यामलले दिएको पासलाई नियन्त्रणमा लिँदै टोरेसले एस्पानियोलका गोलकिपर मार्को ड्मिट्रोभिचलाई छक्याएर बललाई जाली चुमाएका थिए।
१८ वर्ष २७२ दिनको उमेरमा लामिन यामल बार्सिलोनाको इतिहासमा १०० खेल पुरा गर्ने सबैभन्दा कान्छा खेलाडी बने। दुईवटा 'असिस्ट' गरेर उनले मैदानमा आफ्नो प्रभाव पुनः प्रमाणित गरे।
खेलमा पकड जमाउन संघर्ष गरिरहेको एस्पानियोलले ५६औँ मिनेटमा एक गोल फर्कायो। बार्सिलोनाका डिफेन्डर एरिक गार्सियाले बल रोक्ने प्रयास गरे पनि पोल लोजानोले सही समयमा प्रहार गर्दै गोल गरेका थिए।
एस्पानियोलका फर्नान्डो कालेरोले पनि हेडमार्फत गोल गर्ने प्रयास गरेका थिए, तर बल पोस्टभन्दा बाहिर गयो र उनीहरूले बराबरी गर्ने मौका गुमाए।
खेलको अन्त्यतिर बार्सिलोना झन् आक्रामक देखियो र दुई मिनेटको अन्तरालमा दुई गोल गर्दै जित सुनिश्चित गर्यो। लामिन यामलले खाली पोस्टमा गोल गरे भने विकल्पका रूपमा मैदान छिरेका इङ्ल्यान्डका फरवार्ड मार्कस रासफोर्डले ८९औँ मिनेटमा उत्कृष्ट 'भली' मार्फत गोल गरे।
ला लिगामा अब सात खेल बाँकी छँदा बार्सिलोना उपाधि रक्षा गर्ने बलियो स्थितिमा देखिएको छ। अब बार्सिलोनाको ध्यान मंगलबार हुने च्याम्पियन्स लिगको एट्लेटिकव म्याड्रिड विरुद्धको अन्तिम आठ दोस्रो लेगमा केन्द्रित हुनेछ। अघिल्लो चरणमा पुग्न बार्सिलोनाले दुई गोलको घाटालाई मेटाउनुपर्ने चुनौती छ।
एस्पानियोलले ला लिगामा लगातार १४ खेलसम्म जित निकाल्न सकेको छैन, यद्यपि उनीहरू अंक तालिकाको १०औँ स्थानमा रहन सफल भएका छन्।