विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शनले सबैको मन जित्न सफल केप भर्डेका गोलकिपर अब चिलीको प्रसिद्ध क्लब 'कोलो कोलो'मा आबद्ध हुने भएका छन्।
४० वर्ष पुगिसकेका यी अनुभवी गोलकिपर विश्वकप खेल्न जाँदा कुनै पनि क्लबमा आबद्ध थिएनन्। पोर्चुगलको दोस्रो डिभिजनको क्लब 'चाभेस' सँगको सम्झौता सकिएपछि उनी खाली थिए। तर, विश्वकपको समूह चरणमा बलियो टोली स्पेनलाई गोलरहित बराबरीमा रोकेर उनले रातारात सबैको ध्यान आफूतिर खिच्न सफल भए।
कोलो कोलोका अध्यक्ष एनिबल मोसाले मोजिन्हा अब आफ्नो क्लबको खेलाडी हुने पुष्टि गरेका छन्। उनले भने, ‘भोजिन्हा अब कोलो कोलोका खेलाडी हुनेछन्। केही दिनमै उनी चिली आउनेछन्, स्वास्थ्य परीक्षण गर्नेछन् र त्यसपछि उनलाई रंगशालामा सार्वजनिक गरिनेछ।’
अध्यक्ष मोसाका अनुसार मोजिन्हाले विश्वकपमा देखाएको खेलकै कारण उनले यो अवसर पाएका हुन्। साथै, उनको लोकप्रियताले क्लबको ब्राण्डिङमा पनि मद्दत पुग्ने उनले बताए। कोलो कोलो अहिले चिलीको मुख्य लिगको शीर्ष स्थानमा छ।
स्पेनसँग ऐतिहासिक बराबरी खेल्दै विश्वकपमा पहिलो अंक जोडेपछि मोजिन्हा निकै चर्चित बनेका थिए। यसले गर्दा सामाजिक सञ्जालमा उनका समर्थकहरू पनि लाखौँले बढेका छन्।
विश्वकप खेल्ने दोस्रो सानो राष्ट्र केप भर्डेले अन्तिम ३२ को खेलमा लियोनेल मेसी सम्मिलित अर्जेन्टिनालाई समेत कडा टक्कर दिएको थियो। उक्त खेलमा केप भर्डे अतिरिक्त समयमा ३-२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।
मोजिन्हाले यसअघि स्लोभाकिया, अंगोला, माल्डोभा, साइप्रस र पोर्चुगलका विभिन्न क्लबहरूबाट फुटबल खेलिसकेका छन्।