बलिउडका एक्सन स्टार टाइगर श्राफ अब फुटबलको मैदानमा देखिने भएका छन्। भारतको प्रतिष्ठित डुरान्ड कपको १३५औँ संस्करणका लागि उनलाई 'मुम्बई एफसी' को टोलीमा समावेश गरिएसँगै उनको फुटबल डेब्युको चर्चा चुलिएको हो।
टाइगरले पछिल्लो समय टोलीसँगै नियमित रूपमा अभ्यास गरिरहेका छन्। उनले समूह चरणको अन्तिम खेलमा मैदान उत्रिने सम्भावना बलियो छ। उद्यमी अली अहमदको लगानी रहेको मुम्बई एफसी आफ्नो समूह चरणका खेलहरू खेल्न जुलाई ३० मा सिलोङ प्रस्थान गर्दैछ।
टाइगर श्राफले सन् २०२४ मा यस क्लबको सुरुवात गरेका थिए र उनी यसका 'ब्राण्ड एम्बेसेडर' समेत हुन्। स्थापनाको छोटो समयमै मुम्बई एफसीले ठूलो सफलता हात पारेको छ। यो क्लबले 'महाराष्ट्र स्टेट क्लब लिग च्याम्पियनसिप' जित्नुका साथै गत सिजन 'आई-लिग ३' मा तेस्रो स्थान हासिल गरेको थियो। सोही उत्कृष्ट प्रदर्शनका कारण क्लबले पहिलो पटक प्रतिष्ठित डुरान्ड कपमा छनोट हुने अवसर पाएको हो।
समूह 'ई' मा रहेको मुम्बई एफसीले सिलोङ लाजोङ, नोङ्सेह स्पोर्ट्स एण्ड कल्चरल क्लब र लाङ्सनिङ एफसीसँग प्रतिस्पर्धा गर्नेछ। यी सबै खेलहरू सिलोङमा हुनेछन्।
यदि टाइगर मैदानमा उत्रिए भने उनी भारतीय फुटबलसँग जोडिने बलिउड हस्तीहरूको सूचीमा थपिनेछन्। यसअघि अभिनेता जोन अब्राहमको 'नर्थ-इस्ट युनाइटेड एफसी' भारतीय फुटबलमा एक स्थापित क्लबको रूपमा चिनिन्छ।
डुरान्ड कप एसियाकै सबैभन्दा पुरानो र विश्वको तेस्रो पुरानो फुटबल प्रतियोगिता हो। यसको सुरुवात सन् १८८८ मा सिमलामा सर मोर्टिमर डुरान्डले गरेका थिए। हाल यस प्रतियोगितामा इन्डियन सुपर लिग, आई-लिग र भारतीय सेनाका फुटबल क्लबहरूले सहभागिता जनाउने गर्छन्।