स्पेनिस महारथी क्लब रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई आधिकारिक रूपमा फ्रान्सको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त गरिएको छ।
सन् २०२६ को विश्वकपको सेमिफाइनलमा स्पेनसँग पराजित भएपछि फ्रान्सका सबैभन्दा लामो समयसम्म प्रशिक्षक रहेका डिडियर डेसच्याम्प्सले आफ्नो १४ वर्षको कार्यकाल अन्त्य गरेका थिए।
उनकै उत्तराधिकारीका रूपमा जिदानले टोली सम्हाल्ने भएका हुन्। ५४ वर्षीय जिदान सन् २०२१ मा दोस्रो पटक रियल म्याड्रिड छोडेपछि कुनै पनि टोलीसँग आबद्ध थिएनन्।
सन् १९९८ मा फ्रान्सलाई खेलाडीका रूपमा विश्वकप जिताएका जिदानले अब सन् २०३० को विश्वकपसम्म टोलीको नेतृत्व गर्ने गरी सम्झौता गर्नेछन्।
मुख्य प्रशिक्षक नियुक्त भएपछि जिदानले भने, ‘फ्रान्सेली राष्ट्रिय टोलीको नेतृत्व गर्न पाउनु मेरा लागि ठूलो गर्वको कुरा हो। मैले सधैं भन्ने गरेको छु— फ्रान्सेली राष्ट्रिय टोलीभन्दा ठूलो अरू केही छैन। त्यसैले यो जिम्मेवारी पाउनु मेरा लागि खुसी र गौरवको विषय हो।’
उनले थपे, ‘यो एक ठूलो जिम्मेवारी पनि हो। ममाथि विश्वास गरेकोमा फ्रान्सेली फुटबल महासंघका अध्यक्ष र कार्यकारी समितिलाई धन्यवाद दिन चाहन्छु। साथै, १४ वर्षसम्म सेवा गरेका डिडियर र उनको टोलीप्रति सम्मान व्यक्त गर्दछु। मेरो लक्ष्य फ्रान्सलाई फेरि शीर्ष स्थानमा पुर्याउनु हुनेछ।’
खेलाडीका रूपमा विश्वप्रसिद्ध जिदानले प्रशिक्षकका रूपमा पनि आफूलाई अब्बल सावित गरिसकेका छन्। उनले रियल म्याड्रिडलाई लगातार तीन पटक (२०१६–२०१८) युइएफए च्याम्पियन्स लिगको उपाधि दिलाएर विश्व कीर्तिमान बनाएका थिए। उनले रियललाई दुई पटक ला लिगा र दुई पटक फिफा क्लब विश्वकपको उपाधि पनि दिलाए।
जिदानलाई फ्रान्सको इतिहासकै महान् खेलाडी मानिन्छ। सन् १९९८ को विश्वकप फाइनलमा ब्राजिल विरुद्ध दुई गोल गर्दै फ्रान्सलाई पहिलो पटक विश्वविजेता बनाएपछि उनी राष्ट्रिय नायक बनेका थिए। सन् २००६ को विश्वकप फाइनलमा इटालियन खेलाडी मार्को माटेराजीलाई टाउकोले प्रहार गरेपछि रातो कार्ड पाउँदै उनले फुटबलबाट संन्यास लिएका थिए। तर, सोही प्रतियोगितामा उनी उत्कृष्ट खेलाडी घोषित भएका थिए।
लामो समयदेखि फ्रान्सको प्रशिक्षक बन्ने चर्चामा रहेका जिदानको पहिलो अग्निपरीक्षा आगामी सेप्टेम्बर २५ मा नेसन्स लिग अन्तर्गत टर्की विरुद्धको खेलबाट हुनेछ।