विश्व फुटबलका महान् खेलाडी लिओनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट आफ्नो अविस्मरणीय यात्राको अन्त्य गरेका छन्। अर्जेन्टिनाको ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा ८५ हजारभन्दा बढी समर्थकसामु मेसीले गोल गर्दै अर्जेन्टिनाको जर्सीबाट आफ्नो अन्तिम खेललाई भावुक र शानदार बनाएका हुन्।
बेनीनविरुद्धको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ३–० को सहज जित निकाल्दा मेसीले एक गोल गरे भने निकोलास ओटामेन्डी र निको पाजका गोलमा असिस्ट दिए। यससँगै अर्जेन्टिनाका लागि मेसीको गोल संख्या १२६ पुगेको छ। उनले राष्ट्रिय टोलीबाट २०८ खेल खेलेर सबैभन्दा धेरै खेल, गोल र असिस्ट गर्ने खेलाडीका रूपमा आफ्नो अन्तर्राष्ट्रिय करिअर टुंग्याएका छन्।
यो केवल एउटा मैत्रीपूर्ण खेल थिएन, अर्जेन्टिनाका लागि यो एउटा युगको अन्त्य थियो।
खेल सुरु हुनुअघि नै मोनुमेन्टल मेसीमय बनेको थियो। मैदानमा उनको चर्चित १० नम्बरको विशाल अर्जेन्टिनी जर्सी राखिएको थियो, जसमा ‘धन्यवाद’ लेखिएको थियो। रंगशाला भरिएका समर्थकले आफ्नो कप्तानलाई अन्तिमपटक राष्ट्रिय टोलीको जर्सीमा देख्न पाउँदा भावुक स्वागत गरे।
मेसी खेल सुरु हुनुअघि नै भावुक देखिएका थिए। टोलीको बस रंगशालातर्फ जाँदा उनी आँसु पुछिरहेको दृश्य देखिएको थियो। राष्ट्रिय गानका बेला पनि उनी भावुक बने। मैदानमा प्रवेश गर्दा उनका सन्तानसमेत साथमा थिए।
त्यसपछि आयो मेसीको ‘१० नम्बर’ क्षण।
खेलको १०औँ मिनेटमा रेफ्रीले खेल नै रोकिदिए। मोनुमेन्टलमा उपस्थित ८५ हजारभन्दा बढी दर्शक एकैपटक उभिए र मेसीको नाममा लामो ताली बजाए। आतसबाजीबीच समर्थकले अर्जेन्टिनाका कप्तानलाई अन्तिमपटक मैदानमै विशेष सम्मान दिए।
खेलमा भने मेसीले आफ्नो जादु अन्तिमपटक पनि देखाए। उनले ओटामेन्डीलाई गोलका लागि अवसर बनाए, निको पाजलाई पनि असिस्ट दिए र अन्ततः दोस्रो हाफमा पेनाल्टीमार्फत स्वयं गोल गरे। त्यो गोलसँगै उनको अर्जेन्टिनी यात्राको अन्तिम अध्याय पनि सुनौलो बन्यो।
तर स्कोरभन्दा ठूलो थियो विदाइको भावना।
खेलपछि मेसीले करिब १० मिनेट समर्थकलाई सम्बोधन गरे। बोल्ने क्रममा उनी पटकपटक भावुक बने। आफ्ना सहकर्मीहरू पनि आँसु थाम्न सकेनन्। म्यानचेस्टर सिटीका एन्जो फर्नान्डेजलगायत खेलाडीहरू मेसीको भाषण सुन्दै भावुक देखिए। मेसीले अर्जेन्टिना छाड्न आफूलाई सहज नभएको भाव व्यक्त गर्दै राष्ट्रिय टोलीसँगको सम्बन्ध आफ्नो जीवनकै सबैभन्दा सुन्दर अनुभवमध्ये एक रहेको बताए।
मेसीको विदाइमा अर्जेन्टिनामात्र होइन, विश्व फुटबल नै भावुक भयो।
बार्सिलोना र पीएसजीमा मेसीसँगै खेलेका ब्राजिलियन स्टार नेमारले सामाजिक सञ्जालमार्फत उनलाई शुभकामना दिँदै मेसीले फुटबलका लागि गरेको योगदानप्रति विश्व नै आभारी रहेको बताएका छन्। नेयमारले मेसीसँग खेल्न पाउनु आफ्नो लागि सम्मान भएको र उनीसँग इतिहास बनाउन पाएकोमा गर्व रहेको बताएका छन्।
मेसीका नजिकका साथी तथा अर्जेन्टिनाका पूर्व सहकर्मी रोड्रिगो डे पाउलले त मेसीले आफूलाई खेलाडी मात्र नभई असल मानिस, पिता र साथी बन्नसमेत प्रेरित गरेको बताएका छन्।
अर्का अर्जेन्टिनी महान् खेलाडी एन्जल डि मारियाले पनि मेसीले आफ्नो देशका लागि सबै कुरा दिएकोमा गर्व गर्नुपर्ने बताएका छन्। उनका अनुसार मेसीलाई यति खुसी र शान्त अवस्थामा देख्नु नै सबैका लागि खुसीको कुरा हो।
मेसीले सन् २००५ मा अर्जेन्टिनाका लागि डेब्यु गरेका थिए। हंगेरीविरुद्धको त्यो पहिलो खेलमै रातो कार्ड पाएर मैदानबाट बाहिरिएका १८ वर्षीय मेसीले त्यसपछि विश्व फुटबलकै सबैभन्दा अविश्वसनीय यात्रामध्ये एक पूरा गरे।
२१ वर्षपछि त्यही यात्रा १२६ गोल, २०८ खेल र चार ठूला उपाधिसहित समाप्त भएको छ।
विश्वकप २०२२, कोपा अमेरिका २०२१ र २०२४ उपाधि अर्जेन्टिनालाई दिलाउँदै मेसीले आफ्नो देशका लागि लामो समयदेखि अधुरो रहेको सपना पूरा गरे।
अब अर्जेन्टिनाको आकाशमा मेसीको १० नम्बर जर्सी मैदानमा देखिने छैन। तर उनको कथा सकिएको छैन। क्लब फुटबलमा अमेरिकी क्लब इन्टर मायमीका लागि खेल्दै उनले आफ्नो यात्रालाई निरन्तरता दिनेछन्।
मोनुमेन्टलमा अन्तिमपटक अर्जेन्टिनाको जर्सी लगाएर मैदान छाड्दा भने एउटा आवाज चारैतिर गुञ्जिरहेको थियो— धन्यवाद लिओ। फुटबललाई यति धेरै सुन्दर बनाएकोमा—धन्यवाद, मेसी।