नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पाँच ओभरमै १०५ रनको विशाल योगफल बनाएको छ।
वर्षाका कारण लामो समय रोकिएको खेल राति ९:२० बजे सुरु भएको थियो। निर्धारित २० ओभरको खेललाई घटाएर पाँच ओभरमा सीमित गरिएको थियो। छोटो खेलका लागि मैदानको बाउन्ड्रीको आकारसमेत केही सानो बनाइएको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रन बनायो। विराटनगरले प्रतिओभर २१ रनको औसतमा रन जोडेको हो।
विराटनगरका ओपनर शेहान जयसूर्याले विस्फोटक ब्याटिङ गर्दै ११ बलमा ३९ रन बनाए। उनले दुई चौका र पाँच छक्का प्रहार गरे। लोकेश बमले पनि १० बलमा एक चौका र तीन छक्कासहित २५ रन जोडे।
जयसूर्या र लोकेशले पहिलो विकेटका लागि १६ बलमा ६८ रनको साझेदारी गरे। जयसूर्या २.४ ओभरमा अभिनाश बोहराको बलमा आउट भए।
त्यसपछि क्रिजमा आएका आन्द्रे रसेलले पनि आक्रामक ब्याटिङ गरे। उनले १० बलमा दुई चौका र तीन छक्कासहित अविजित २९ रन बनाए। रसेल र लोकेशबीच दोस्रो विकेटका लागि १४ बलमा ३७ रनको साझेदारी भयो। लोकेश अन्तिम बलमा आउट भए।
सुदूरपश्चिमका अभिनाश बोहराले दुई विकेट लिए। उनले दुई ओभरमा २८ रन खर्चिए। अन्य बलर भने निकै महँगा साबित भए। थारिन्दु रत्नायकेले एक ओभरमा ३१ तथा हेमन्त धामीले एक ओभरमा २५ रन खर्चिए।