नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले वर्षाले प्रभावित खेलमा सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ। विराटनगरले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो।
शनिबार राति कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो।
वर्षाका कारण निर्धारित २० ओभरको खेललाई पाँच ओभरमा झारिएको थियो। दिनभरको वर्षाले मैदानको आउटफिल्डमा पानी जमेपछि खेल हुने नहुने अन्योल थियो। मैदानको अवस्था खराब भएका कारण सुदूरपश्चिमले सुरुमा खेल्नसमेत मानेको थिएन। लामो छलफलपछि क्यान सचिव पारस खड्कालगायतको पहलमा सुदूरपश्चिम खेल्न तयार भएको थियो।
ग्राउन्ड स्टाफको निरन्तर मेहनतपछि मैदान खेल्नयोग्य बनाइएको थियो। छोटो खेलका लागि बाउन्ड्रीको आकारसमेत केही सानो पारिएको थियो। राति ९ बजेर २० मिनेटमा सुरु भएको खेल हेर्न त्रिवि मैदानमा हजारौँ दर्शक उपस्थित थिए।
टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमविरुद्ध विराटनगरले आक्रामक ब्याटिङ गरेको थियो। विराटनगरले पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रन बनायो।
विराटनगरका शेहान जयसूर्याले सर्वाधिक ३९ रन बनाए। उनले ११ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे। लोकेश बमले १० बलमा एक चौका र तीन छक्कासहित २५ रन जोडे। जयसूर्या र लोकेशले पहिलो विकेटका लागि २.४ ओभरमा ६८ रनको साझेदारी गरे।
आन्द्रे रसेलले १० बलमा दुई चौका र तीन छक्कासहित अविजित २९ रन बनाए। उनले लोकेशसँग दोस्रो विकेटका लागि ३७ रनको साझेदारी गरे। सुदूरपश्चिमका अभिनाश बोहराले दुई विकेट लिए।
१०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले सुरुवातमै दुई महत्वपूर्ण विकेट गुमायो। आन्द्रे रसेलले पहिलो बलमै शेर्फेन रदरफोर्डलाई बोल्ड गरे। त्यसपछि कप्तान दीपेन्द्रसिंह ऐरी एक रन बनाएर आउट भए। उनलाई एन्जेलो म्याथ्युजले रुपेश सिंहको हातबाट क्याच गराए।
सुदूरपश्चिमले पावरप्ले अर्थात् पहिलो १.३ ओभरमै सात रन जोड्दा दुई विकेट गुमाएको थियो। सैफ जैबले १० बलमा १७ रन बनाए पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्।
स्कट कुगेलेइनले आक्रामक ब्याटिङ गर्दै ६ बलमा एक चौका र चार छक्कासहित अविजित २८ रन बनाए। आरिफ शेख ८ बलमा १७ रन बनाएर अविजित रहे। तर सुदूरपश्चिमले पाँच ओभरमा तीन विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो।
विराटनगरका लागि आन्द्रे रसेल, रुपेश सिंह र एन्जेलो म्याथ्युजले एक/एक विकेट लिए। रसेलले दुई ओभरमा आठ रन मात्रै खर्चिएर एक विकेट लिएका थिए।
यस जितसँगै विराटनगरले एनपिएलको जारी सिजनमा पहिलो जित निकालेको छ। वर्षाका कारण दिनको पहिलो खेल लुम्बिनी लायन्स र चितवन राइनोजबीचको प्रतिस्पर्धा भने रद्द भएको थियो।