वेस्ट इन्डिजका चर्चित अलराउन्डर फेबियन एलेन तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० प्रतियोगिता खेल्न आज नेपाल आइपुगेका छन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुदूरपश्चिम रोयल्सका प्रतिनिधिले स्वागत गरे।
एलेनले हालसम्म वेष्ट इन्डिजका लागि २० एकदिवसीय खेल, ४२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
उनले एकदिवसीयमा २०० रन बनाएका छन् भने सात विकेट लिएका छन्।
यस्तै, एलेनले टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा २९८ रन बनाएका छन् भने २४ विकेट लिएका छन्। उनले समग्र टी–२० क्रिकेटमा १७८ खेलमा एक हजार ६३४ रन बनाएका छन्।
एलेनले इण्डियन प्रिमिय लिग (आइपिएल), क्यारेबियन प्रिमियर लिग (सिपिएल), मेजर लिग क्रिकेट, बिग बास लिग (बिबिएल), लङ्का प्रिमियर लिग (एलपिएल), आइएल टी–२०, एसए टी–२० र पाकिस्तान सुपर लिग (पिएसएल) खेलिसकेका छन्।
एनपिएल उनका लागि नवौं व्यावसायिक लिग हो।