नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको शानदार जित निकालेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमाडौंले १०.२ ओभर बाँकी छँदै एक विकेट गुमाएर पूरा गर्यो।
काठमाडौंले ९.४ ओभरमा एक विकेट गुमाएर ८६ रन बनायो। उसका लागि अस्ट्रेलियन स्टार डेभिड वार्नरले विस्फोटक ब्याटिङ गरे। उनले २४ बलमा २ चौका र ३ छक्कासहित अविजित ४४ रन बनाए। विल बोसिस्टोले पनि २४ बलमा ३ चौकासहित अविजित २३ रन जोडे।
वार्नर र बोसिस्टोबीच दोस्रो विकेटका लागि अविजित ६९ रनको साझेदारी भयो। यही साझेदारीले काठमाडौंलाई सहज जित दिलायो।
काठमाडौंले सुरुवातमा साहिल पटेललाई १७ रनमा गुमाएको थियो। उनी ११ बलमा २ चौकासहित १० रन बनाएर अपराजित पौडेलको बलमा आउट भए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्स १८.३ ओभरमा ८३ रनमै अलआउट भएको थियो। यो जारी सिजनमा विराटनगरको सबैभन्दा कम योगफल हो।
विराटनगरको सुरुवात निकै खराब रह्यो। उसले १२ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो। शेहान जयसूर्या ५, इमरान शेख शून्य र लोकेश बम ६ रनमा आउट भए।
त्यसपछि पनि विकेट पतन रोकिएन। बसीर अहमदले १० रन बनाए पनि नारायण जोशी र शुभम रञ्जने खाता नखोली आउट भए। आन्द्रे रसेल ३ रनमा पेभेलियन फर्किएपछि विराटनगर ९.४ ओभरमा ३५ रन जोड्दा सात विकेट गुमाएर संकटमा परेको थियो।
त्यसपछि एन्जेलो म्याथ्युज र रुपेश सिंहले आठौं विकेटका लागि ३९ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे। म्याथ्युजले ३१ बलमा २२ र रुपेशले २७ बलमा २६ रन बनाए। विराटनगरको इनिङ्समायही सबैभन्दा ठूलो साझेदारी रह्यो।
तर १६.२ ओभरमा म्याथ्युज आउट भएपछि उक्त साझेदारी टुट्यो। त्यसको चार बलपछि रुपेश पनि आउट भए। उनले बनाएको २६ रन विराटनगरका ब्याटरमध्ये सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। कप्तान सन्दीप लामिछाने ३ रनमा अविजित रहे भने अपराजित पौडेल २ रन बनाएर आउट भए।
काठमाडौंका लागि सन्तोष यादवले सर्वाधिक ३ विकेट लिए। उनले ३ ओभरमा ११ रनमात्र खर्चिए। शेहान अरागिचे र करण केसीले समान २ विकेट लिए। शहाब आलम, जहानदाद खान र देव शाहले एक–एक विकेट हात पारे।
काठमाडौंको जितमा बलिङतर्फ सन्तोष यादवको उत्कृष्ट प्रदर्शन र ब्याटिङमा वार्नरको आक्रामक इनिङ्स निर्णायक बन्यो। विराटनगरले सुरुदेखि नै विकेट गुमाउँदा ठूलो योगफल बनाउन सकेन भने काठमाडौंले लक्ष्य पछ्याउँदा कुनै दबाब महसुस गर्नुपरेन।
यो काठमाडौंको तीन खेलमा दोस्रो जित हो। जितसँगै चार अंक जोडेको काठमाडौं अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। विराटनगर भने पाँच खेलमध्ये तीनमा पराजित भएको छ। चार अंक नै भए पनि रनरेटका आधारमा विराटनगर पाँचौं स्थानमा झरेको छ।