रूसमा भइइरहेको बुद्धिस्ट चेस च्याम्पियनसिप र कागकिस्तानमा जारी एसियन क्याडेट चेस च्याम्पियनसिपमा खेलाडी सहभागिताको प्रक्रियामा प्रश्न उठाएका खेलाडीहरूले नेपाल बुद्धिचाल महासंघका कार्यसमिति नै विघटनको माग गरेका छन्।
राष्ट्रिय च्याम्पियन रूपेश जैशवाल र पुरुषोत्तम चौलागाइसहितका खेलाडीहरूले आइतबार पत्रकार सम्मेलन गर्दै चेस महासंघमा आर्थिक अनियमितता भएको र बेथिति जारी रहेको भन्दै कार्यसमिति विघटन गरी नयाँ कार्यसमिति गठन गर्न माग गरेका हुन्।
महासंघका अध्यक्ष हेराकाजी महर्जन नेपाली टोली लिएर हाल रूसमा छन्। महासचिव धरमबहादुर लामा नेपाल टोलीसहित काजकिस्तानमा छन्।
अध्यक्ष र महसचिवसहित कोषाध्यक्ष तारा बहादुर रानाभाटसहितले महासंघ एकलौटी रुपमा चलाएको र विदेशबाट आउने रकमको पनि हिसाब नदेखाएको आरोप खेलाडीहरूको छ।
‘शक्तिको दुरुपयोग गर्दै गरिएको मनोमानी निर्णय, आर्थिक अपारदर्शिता तथा खेलाडीमाथि गरिएको दुर्व्यवहार हाम्रो मूल विषय हो।नेपालमा चेस खेलाडीको छनोट कमिटी नबनाइने तथा छनोटको आधार नहुनुका साथै अन्तिम समयमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइदा आफू अनुकूल व्याख्या गर्ने शैली पूरानै हो,’ खेलाडीहरूको भनाइ छ।
खेलाडीहरूको माग यस्ता छन् :-
हामीले नेपाली चेसमा भएको अनियमितता, बेथिति र अपारदर्शिताबारे विभिन्न समयमा उठाएका विषयमा नेपाल बुद्धिचाल महासंघले सधैं बेवास्ता गर्ने गरेका कारण बाध्य भएर यो पत्रकार सम्मेलन गरिएको हो।
हामीले उठाएको मूल विषय शक्तिको दुरुपयोग गर्दै गरिएको मनोमानी निर्णय, आर्थिक अपारदर्शिता तथा खेलाडीमाथि गरिएको दुर्व्यवहार छन्। नेपालमा चेस खेलाडीको छनोट कमिटी नबनाइने तथा छनोटको आधार नहुनुका साथै अन्तिम समयमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइदा आफू अनुकूल व्याख्या गर्ने शैली पुरानै हो।
यसमा नेपाली चेस खेलाडीहरू घोर आपत्ति जनाउँदछौ। यसै क्रममा रुसमा जारी प्रथम बुद्धिस्ट चेस च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागी गराउँदा पनि बिना कुनै आधार खेलाडी चयन गरिएको कुरामा हाम्रो आपत्ति छ।
यसैगरी काजकिस्तानमा जारी एसियन क्याडेट चेस च्याम्पियनसिपमा पनि नेपाली खेलाडीको सहभागिताको छनोट प्रक्रिया प्रष्ट नहुनु दु:खको कुरा हो। सहभागी कुनै पनि खेलाडीका विषयमा हाम्रो आपत्ती छैन। परन्तु नेपाल बुद्धिचाल संघले छनोटको प्रक्रिया नबनाई सहभागी गराउने शैलीले हामी चेस खेलाडी माथि सधैं दमनको भावना देखिएको छ।
नेपालको प्रचलित कानुन अनुसार हरेक संस्थाले वार्षिकरूपमा आर्थिक प्रतिवेदन पास गर्नु पर्ने प्रावधान भए पनि नेपाल बुद्धिचाल महासंघमा यो प्रावधान छैन।
खेलाडी कल्याणकोषको रूपमा हरेक प्रतियोगितामा पुरस्कार रकमको ५ प्रतिशत उठाइने गरेको छ। यसका बाबजुद परिचित र स्थापित राष्ट्रिय खेलाडीहरूको जीवनमा ठूला दैवी वित्तपी र गम्भीर स्वास्थ्य समस्याको समयमा समेत संघको रकम खर्च हुने गरेको छैन।
संघ पदाधिकारीहकाले विलामी जीवन बिताउने तथा हिसाब सार्वजनिक नगर्ने पुराने परम्परा हो।
नेपाल बुद्धिचाल महासंघको बजेटबाट महासंघका पदाधिकारीहरूले विलासीपूर्ण जीवन बिताउने तथा हिसाब सार्वजनिक नगर्ने पूरानै परम्परा हो।
एउटा कार्यसमिति बैठकमा नै लाखौं रुपैयाँको बिल खर्च हुने गरेको छ। यस कारण हामी सम्पूर्ण आर्थिक रिपोर्ट सार्वजनिक गर्न माग गर्दछौ ।
हाम्रो सबैभन्दा आपत्तीको विषय गत वर्ष हंगेरीमा भएको ४५औँ चेस ओलम्पियाडमा नेपालको सहभागिताको अवसर नै गुमेको विषय पनि हो। समयमा नै भिसा प्रक्रिया सुरु नगर्नु र राष्ट्रिय खेलकुद परिषदबाट भिसा प्रक्रियाका लागि स्वीकृत नाम भन्दा बढीको भिसा लिन प्रयास गर्नु लगायत महासंघकै कमजोरीका कारण भिसा नपाएर नेपाली खेलाडीले सहभागिताको अवसर गुमाएको हाम्रो ठहर छ । महासघको छनोट नीति प्रष्ट नभएका कारण सो समयमा पनि महिला स्पर्धामा सहभागिता विवाद भएको थियो।
नेपाल फिडेको क्याटोगारी ४ अन्तर्गतको देश भएका कारण यसबाट पाउने सुविधा समेत हामीले नपाएको आभास गरेका छौ।
यस विषयमा नेपाली खेलाडीहरूले आवाज उठाउँदा ओलम्पियाडमा समेत टिममा गए पनि खेल्न नदिने धम्की दिने गरेको सामान्य भइसकेको छ ।
अन्त्यमा हामी चेसकर्मी नेपाल बुद्धिचाल महासंघको आर्थिक रिपोर्ट माग गर्दै माथि उल्लेखित घटनाबारे छानबिन गर्दै तथ्य बाहिर आउन पर्ने कुरामा जोड दिन चाहन्छौं।
साथै, हंगेरीको बुढापेस्टमा भएको चेस ओलम्पियाडमा नेपाली टोलीको गुमेको छानबिनको अवसर र यसका कारणको विषयमा पनि छानबिनको माग गरेका छौ। यसै घटनाले पनि संघ अयोग्य भएको पुष्टि भएको छ।
हामीसँग बेथितीका अझ धेरै लामो शृङ्खला नै छ। यस बेतिथिको विषयमा आवश्यक कारबाही गरी पाउँ भनि हामी राष्ट्रिय खेलकुद परिषद्सँग जोडदार माग गर्दछौ। नेपाल बुद्धिचाल संघको मौजुदा कार्यसमिति विघटनको माग गर्दै अर्को कार्य समिति गठनको समेत माग गर्दछौ।