एसियाली टेबलटेनिस टिम च्याम्पियनसिपको २८ औं संस्करणमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली भारतको उडिसा जाने भएको छ।
अक्टोबर ११ देखि १५ तारिखसम्म उडिसाको भुवनेश्वरस्थित कलिंगा एथलेटिक्स एचपीसी बिल्डिङमा हुने प्रतियोगितामा समान ३-३ पुरुष/महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।
पुरुषमा संयोग कपाली, रुविन महर्जन र राजीव चिकन्बञ्जार तथा महिलामा नवीता श्रेष्ठ, वियंका राई र इभाना थापाले प्रतिस्पर्धा गर्ने छन्। टिममा ५ सिंगल्स स्पर्धामा खेल हुनेछ।
टोली प्रमुखमा अखिल नेपाल टेबलटेनिस संघका महासचिव कुबेरप्रकाश सिंह र प्रशिक्षकमा मोहनदास बासुकला रहेका छन् । प्रतियोगितामा २२ राष्ट्रको सहभागिता रहने प्रशिक्षक बासुकलाले जनाएका छन् ।
नेपालमै गत जुलाइमा विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि भएको दक्षिण एसियाली क्षेत्रीय टेबलटेनिस छनोट प्रतियोगिताका आधारमा खेलाडी छनोट गरिएको टेबलटेनिस संघले जनाएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाललगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे।