हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ अन्तर्गत शनिबार भएको पहिलो खेलमा गोल्डेनगेट ईन्टरनेसनल क्लबले केभिसी हाउण्ड्समाथि रोमाञ्चक जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा गोल्डेनगेटले हाउण्ड्सलाई ९१-८७ ले पराजित गरेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा गोल्डेनगेटले पहिलो क्वाटरमा २५-१६ को अग्रता लिएको थियो ।
दोस्रो क्वाटरमा पुनरागमन गर्दै हाउण्ड्सले ३०-२० ले आफ्नो पक्षमा पार्दै हाफटाईमसम्म ४६-४५ को अग्रता बनाएको थियो ।
तर तेस्रो क्वाटरमा गोल्डेनगेटले २६-२१ ले आफ्नो पक्षमा पारेपछि समग्रमा ७१-६७ को अग्रता बनायो ।
चाैथो क्वाटर २०-२० को बराबरीमा सकिएपछि त्यही चार अंकको अग्रता कायम राख्दै गोल्डेनगेटले जित हासिल गरेको हो ।
गोल्डेटका लागि सुदिप पाैडेलले सर्वाधिक २१ अंक स्कोर गरे । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।
गोल्डेनगेटको यो दोस्रो जित हो । पहिलो खेलमै टाईम्सलाई हराएको गोल्डेनगेट दोस्रो खेलमा भने त्रिभुवन आर्मीसँग पराजित भएको थियो ।
हाउण्ड्सको यो लगातार तेस्रो हार हो । हाउण्ड्स यसअघि आर्मी र टाईम्ससँग पराजित भएको थियो ।
शुक्रबार राती सम्पन्न खेलमा प्लेबक्स एरेनाले कीर्तिपुरलाई पराजित गर्दे पहिलो जित हासिल गरेको छ । प्रतिस्पर्धात्मक खेलमा प्लेबक्सले कीर्तिपुरलाई ८५-८१ ले पराजित गरेको हो ।
कीर्तिपुरको यो पहिलो हार हो । कीर्तिपुरले पहिलो खेलमा रोएल्सलाई पराजित गरेको थियो ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।