पूर्वराष्ट्रिय फुटबल तथा क्रिकेट खेलाडी रविन्द्र चन्द कर्णाली खेलकुद विकास परिषदको सदस्य सचिव नियुक्त भएका छन्।
यसअघि छनोट समितिको सिफारिसमा परेका चन्दलाई कर्णाली प्रदेश सरकारले सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो।
बिहीबार सकेको मन्त्रिपरिषदको बैठकले पहिलो नम्बरमा सिफारिस भएका चन्दलाई नियुक्त गरेको प्रदेश सरकारका प्रवक्ता विनोद शाहीले जनाकारी दिए।
निवेदन हाल्दै अन्तर्वार्तामा पुगेका मध्ये तीन जनालाई छनोट समितिले सिफारिस गरेको थियो। जसमा रविन्द्र पहिलो नम्बरमा सिफारिस हुँदा दीपक हमाल र प्रमोद हमाल पनि सिफारिसमा थिए।
प्रमोद हमाललाई भने सरकारले परिषदको उपाध्यक्ष नियुक्त गरेको छ। परिषदको सदस्यहरुमा पंखबहादुर मल्ल,भीमकुमारी भुषाल,गोर्खबहादुर शाही, पवनकुमार थापा र किरणकिशोर सापकोटालाई मनोनयन गरिएको छ।
सदस्यसचिव नियुक्त भएका रविन्द्र सुर्खेत विरेन्द्रनगरका हुन्। अघिल्लो पटक पनि उनी प्रदेशको सदस्य सचिव हुने दौडमा थिए। तर विश्वामित्र सन्ज्याल सदस्यसचिव बन्न सफल भएका थिए। क्रिकेटर हुँदै राष्ट्रिय खेलकुदमा विकास क्षेत्रको टिमबाट फुटबल खेलेका रविन्द्रलै बैंकमा समेत काम गरेका थिए।
साथै उनी चार वर्षअघि अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्य, सुर्खेल जिल्ला फुटबल संघको अध्यक्ष समेत निर्वाचन भएका थिए।
उनी राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्दका दाइ हुन्। चन्द दाजुभाइले आरसी ३२ फुटबल क्लब समेत स्थापना गरेका छन्। आरसी ३२ हाल सहिद स्मारक बी डिभिजनमा छ। कर्णालीबाट एन्फाको डिभिजन लिगमा प्रवेश गर्ने आरसी ३२ पहिलो क्लब हो।