शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद र शिक्षा क्षेत्रमा व्याप्त राजनीतिकरणलाई पूर्ण रूपमा बन्द गरिनुपर्ने बताएका छन्।
शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पोखरेलले पेशागत क्षेत्रमा भइरहेको राजनीतीकरणले काम गर्न कठिन बनाएको उल्लेख गर्दै यसलाई रोक्नु नै आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पारे।
मन्त्री पोखरेलले खेलकुद निकायहरूमा राजनीति गर्ने मान्छे नभई खेल क्षेत्रकै विज्ञ र अनुभवी व्यक्ति पुग्नुपर्नेमा जोड दिए।
राष्ट्रिय खेलकुद परिषद् लगायतका निकायहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूलाई राखेर अगाडि बढ्ने योजना रहेको पनि बताए।
उनले भने, ‘सबैतिर राजनीतीकरण बन्द गरिनुपर्छ पहिले कुरा। खेलकुद र शिक्षा क्षेत्रमा मात्र होइन राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आउँदा आउँदै गर्दाखेरि पेशागत रूपमा जहाँजहाँ पनि राजनीतीकरण भएर काम गर्न कठिन भएको छ, त्यो राजनीतीकरणलाई सुरूमा रोक्नुपर्छ। नेपालको खेलकुद क्षेत्र पनि धेरै राजनीतीकरण भएर अहिले बिग्रेको छ। नेपालको समस्या नै जहाँ राजनीति गर्नुपर्ने त्यहाँ राजनीति हुँदैन। जहाँ राजनीति नगर्नुपर्ने त्यहाँ राजनीति भइरहेको छ। अब खेलकुदमा राजनीति होइन खेलकुदमा खेल्ने मान्छेहरू जाने हो राजनीति गर्ने मान्छे जाने होइन । त्यही हिसाबले राष्ट्रिय खेलकुद परिषद अथवा खेलकुदसँग सम्बन्धित जति पनि अरू निकायहरू छ, त्यो सबैमा चाहिँ त्यो क्षेत्रमा विज्ञता भएको, त्यो क्षेत्रको अनुभव भएका विज्ञहरूलाई हामीले सँगै राखेर अगाडि बढाउनेछौँ। अब हाम्रो एकदमै एउटा एकदमै महत्वपूर्ण योजना भनेको खेल क्षेत्रमा भएको राजनीतीकरणलाई रोक्ने हो। एन्फाको विवादलाई पनि अहिले बिग्रेको भनेको राजनीतीकरण धेरै भएर हो। सुरूमा त्यहाँ एन्फा र राजनीतिलाई दुईटालाई छुट्टाउनुपर्छ र त्यही क्षेत्रको विज्ञहरूसँग सहकार्य गरेर हामी अगाडि बढ्छौँ ।’
अखिल नेपाल फुटबल संघ (एन्फा) मा देखिएको विवादको मुख्य जड पनि राजनीतीकरण नै रहेको उनको ठम्याइ छ ।
खेल क्षेत्रको विकासका लागि राजनीतीकरण रोक्नु नै आफ्नो कार्यकालको महत्वपूर्ण योजना रहेको उनले बताए।
–न्युज एजेन्सी नेपाल