सरकारले २४ घन्टाभित्र अनलाइन सट्टेबाजी एप (बेटिङ) र त्यससम्बन्धी वेभसाइटलाई २४ घन्टाभित्र बन्द गर्ने भएको छ।
मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको ४२ नम्बर बुँदामा यसबारे उल्लेख छ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको शुक्रबार बसेको मन्त्रीपरिषद बैंठकले शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची पारित गर्ने निर्णय गरेको छ। जसको कार्यसूची शनिबार सार्वजनिक भएको हो।
कार्यसूचीमा उल्लेख छ, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप (बेटिङ एप) र त्यससम्बन्धी वेवसाइट २४ घन्टाभित्र बन्द गर्ने।’
नेपालमा सट्टेबाजी अवैध भए पनि अनलाइनमार्फत् गैरकानुनी रुपमा यसको कारोबार हुने गरेको छ। चर्चित बेटिङ एपहरूले नेपालमा एजेन्ट राखेर नै बेटिङ गराउने गरेका छन्।
यस्तै त्यहि बेटिङको सेरोगेट एपले पनि नेपालमा बेटिङको प्रचार गर्दै आएका छन्। नेपालका चर्चित खेलकुद प्रतियोगितामा समेत यी सेरोगेट एपको प्रचार हुँदै आएको छ।
यसअघि नेपाल प्रिमियर लिगको दुवै संस्करणमा बेटिङ एपको सेरोगेट कम्पनीको प्रचार गर्दा विवाद भएको थियो।