करातेकी ऐतिहासिक पदक विजेता एरिका गुरुङले चीनको लेसनमा हुने डब्लुकेएफ कराते वान प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने भएकी छन्।
त्यसका लागि एरिकासहित ३ सदस्यीय नेपाली टोली बुधबार चीन प्रस्थान गर्दै छ।
अप्रिल १० देखि १२ तारिखसम्म हुने प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छिन्। गत जनवरीमा टर्कीको इस्तानुबलमा भएको प्रिमियर लिगमा एरिकाले ऐतिहासिक रजत पदक जितेकी थिइन् । प्रिमियर लिग वर्षमा ४ पटक हुन्छ।
राष्ट्रिय कराते टोलीका प्रशिक्षक कुशल श्रेष्ठका अनुसार विश्व वरीयतामा एरिका हाल ११ औं स्थानमा छिन्। सन् २०२६ को उपलब्धीका आधारमा भने एरिका तुम धी युके एसोसिएनकी सद्भावना दूत एरिका चौथो वरीयतामा छिन्।
तीन सदस्यीय टोलीमा कुशल प्रशिक्षकको जिम्मेवारीमा छन् । व्यवस्थापकमा रवि महर्जन छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र नेपाल कराते महासंघका महासचिव दावा गुरुङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव मेहताले पदक जिते वापत खेलाडीले प्राप्त गर्न नसकेको नगद पुरस्कारका लागि पहल गरिरहेको बताए।
‘विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जिते वापतको खेलाडीले पाउन नसकेको नगद पुरस्कार लागि गम्भीर भएर सम्बन्धित निकायमा पहल गरिरहेको छु।
माननीय खेलकुद मन्त्रीज्यूको स्वागत कार्यक्रममा पेश गरिएको तत्काल गर्नु पर्ने १८ कार्य मध्ये मैले खेलाडीको पुरस्कारलाई पहिलो नम्बरमा राखेको थिए ।’ सदस्य–सचिव मेहताले भने– ‘व्यक्तिगत भेटमा पनि यहि आर्थिक वर्षमा दिनु पर्छ भनेर मन्त्रीज्यूसंग कुरा गरेको छु । मन्त्रीज्यू पनि यसमा सकरात्मक हुनु हुन्छ ।’