विभागीय टोली त्रिभुवन आर्मी क्लब हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ को फाईनलमा प्रवेश गरेको छ।
आर्मीले गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै फाईनल पुगेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको पहिलो क्वालिफायरमा आर्मीले गोल्डनगेटलाई ९०–७१ ले पराजित गर्दै फाईनल पुगेको हो ।
आर्मीले यस सिजन गोल्डेनगेट विरुद्ध खेलेको तीनै खेल जित्दै आफ्नो वर्चस्व कायम राख्न सफल भएको छ । यसअघि लिग चरणको दुवै खेलमा आर्मीले गोल्डेनगेटलाई हराएको थियो ।
सुरुवाती क्वाटरसम्म पछि परेको आर्मीले चौथो क्वाटरमा शानदार प्रदर्शन गर्दै जित हात पारेको हो । पहिलो क्वाटरमा गोल्डेनगेटले २५–१७ को अग्रता बनाएको थियो।
दोस्रो क्वाटर १३–१३ को बराबरीमा सकिएपछि गोल्डेनगेटले हाफटाईमसम्म ३८–३० को अग्रता बनायो । तेस्रो क्वाटर पनि २४–२१ को अग्रतासहित अन्तिम क्वाटरअघि गोल्डेनगेट ६२–५१ ले अघि थियो । तर आर्मीले चौथो क्वाटरमा उत्कृष्ट प्रदर्शन गर्दै २९–९ ले आफ्नो पक्षमा पार्दै ८०–७१ ले खेल जितेको हो ।
आर्मीका कप्तान विनोद महर्जन म्यान अफ दि म्याच घोषित भए। आर्मीले शनिबार हुने फाईनलमा स्थान पक्का गर्दा गोल्डेनगेटले भने फाईनल पुग्नका लागि अर्को अवसर पाउनेछ । अब टाईम्स र केभिसी हाउण्ड्सबीच हुने एलिमिनेटरको विजेतासँग गोल्डेनगेटले दोस्रो क्वालिफायर खेल्नेछ।