गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग २०२६ को उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार भएको फाईनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ९५-७४ ले पराजित गर्दै गोल्डेनगेट च्याम्पियन बनेको हो ।
यसअघि लिग चरणमा दुई र पहिलो क्वालिफायरमा गरि आर्मीले तीनपटक गोल्डेनटलाई पराजित गरेको थियो। तर फाईनलमा भने गोल्डेनगेटले आर्मी विरुद्ध बदला लियो।
गोल्डेनगेटले पहिलो क्वाटरमा २४-१४ को अग्रता बनाएको थियो। दोस्रो क्वाटर पनि गोल्डेनगेटले १७-१२ ले आफ्नो पक्षमा पार्दै हाफटाईमसम्म ४१-२६ को अग्रता बनायो।
तेस्रो क्वाटर गोल्डेनगेटले २७-२५ ले आफ्नो पक्षमा पार्दै अग्रता बढायो। गोल्डेनगेटले चौथो क्वाटर २७-२३ ले आफ्नो पक्षमा पार्दै ९५-७४ ले खेल जितेको हो
म्यान अफ दि म्याच गोल्डेनगेटका जाईन खान घोषित भए।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजना तथा हिमालयन जाभाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा कुल ८ टोलीको सहभागिता थियो ।
डबल राउण्ड रोविन प्रणालीमा सञ्चाल भएको लिगमा शीर्ष चार टोलीले प्लेअफ खेलेका थिए ।
प्रतियोगिताको विजेता गोल्डेनगेटले ट्रफीसँगै नगद ४ लाख प्राप्त गरेको छ भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्यो ।
यसअघि पहिलो संस्करणमा विजेता बनेको टाईम्स बास्केटबल क्लब यसपटक तेस्रो स्थानमा सिमित भयो।
यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका गोल्डेनगेटका निकेश रख्याल मगर लिगकै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित भए ।
विजेता टिम तथा खेलाडीहरुलाई राष्ट्रिय खृलकुद परिषदका सदस्य सचिव राम चरित्र मेहता, नेपाल ओलम्पिक कमिटीका महासचिव राजिव श्रेष्ठ, नेपालल बास्केटबल संघका अध्यक्ष भिम सिंह गुरुङ, हिमालयन जाभाका तर्फबाट आनन्द गुरुङ र गगन प्रधान लगायतले पुरस्कार प्रदान गरे ।