नेपालकी कराते स्टार एरिका गुरुङले चीनमा भएको कराते वान प्रिमियर लिग २०२६ मा रजत पदक जितेकी छन्।
आइतबार भएको स्वर्ण पदकको भिडन्तमा एरिकाले कजाखस्तानकी सोफिया बेरुत्सेभासँग प्रतिस्पर्धा गरेकी थिइन्।
तर एरिका फाइनलमा २-१ अंकले पछि पर्दा स्वर्ण जित्ने अवसर गुमाइन्।
यसअघि टर्कीमा भएको कराते वान प्रिमियर लिगमा पनि एरिकाले फाइनलमा सोफियासँगै प्रतिस्पर्धा गरेकी थिइन्। त्यतिबेला पनि एरिका पराजित भएकी थिइन्। आइतबार पनि पराजित भएपछि एरिकाले बदला लिने अवसर पनि गुमाइन्।
यसपटक चीनमा एरिकाले सेमिफाइनलमा इटलीकी फेराकुट्टी क्लेअलाई ८-३ ले पराजित गर्दै स्वर्ण पदकको भिडन्त पक्का गरेकी थिइन्।
करातेको प्रिमियर लिग वर्षमा चार पटक हुन्छ। राष्ट्रिय कराते टोलीका प्रशिक्षक कुशल श्रेष्ठका अनुसार विश्व वरीयतामा एरिका हाल ११ औं स्थानमा छिन्।
विगत दुई वर्षमा कुशलको प्रशिक्षणमा रहेकी एरिकाले लगातार पदक जितिरहेकी छन्। सन् २०२३ मा चीनमा भएको एसियाली खेलकुदमा ऐतिहासिक रजत जितेकी एरिकाले उच्च प्रदर्शन गर्दै आएकी छन्।
त्यसपछि सन् २०२४ मा युएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा स्वर्ण र रजत, अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा स्वर्ण, मोरक्कोमा भएको कराते–१ प्रिमियर लिगमा पनि उनले कास्य पदक जितेकी थिइन्।