इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को नेपाल च्याप्टरले तीन छुट्टा-छुट्टै अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता खेल्ने नेपाली टोलीको बिदाइ गरेको छ।
आइओएफटिसीले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै तीनै वटा टोलीलाई केल्मी ब्रान्डको ट्र्याकसुट प्रदान गर्दै बिदाइ गरेको हो।
आगामी अप्रिल २४ देखि २६ सम्म हुने जापान वाता ओपन तेक्वान्दो च्याम्पियनसिपमा प्रविण श्रेष्ठ, सन्देश अधिकारी र गणेशबहादुर खड्काले प्रतिस्पर्धा गर्दैछन्।
यो प्रतियोगिताको टोली प्रमुखमा गिरिबहादुर सुनार रहेका छन्। सुनार आइओएफटिसी नेपालका महासचिव समेत हुन्।
यस्तै मे २ देखि ३ सम्म आयोजना हुने मलेसिया ओपन तेक्वान्दोमा सन्दीप न्यौपाने र अफिसियलको रुपमा दिवाकर केसीले सहभागिता जनाउँदैछन्।
मे २ देखि ५ सम्म चीनमा हुने हाइनान अन्तर्राष्ट्रिय ओपन च्याम्पियनसिपमा नेपालका भिजन तामाङ, सन्दीप बस्नेत, आयुश बोहराले प्रतिस्पर्धा गर्दा इन्द्रराज खड्का अफिसियलको रुपमा सहभागी हुने कार्यक्रम छ।
सबै खेलाडी तथा अफिसियललाई आइओएफसिटीका अध्यक्ष मिनप्रसाद खनाल र पदाधिकारीले बिदाइ गर्दै ट्र्याक सुट प्रदान गरेका थिए।
अमेरिकामा मुख्यालय रहेको आइओएफसिटीले गत पुसमा आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा नेपालमा १५औं संस्करणको प्रतियोगिता आयोजना गरेको थियो। अब १६औं संस्करण आगामी नोभेम्बरमा अस्ट्रेलियाको मेलवर्नमा आयोजना गर्ने तयारीमा आइओएफटिसी छ।